काठमाडौं । मन्त्रिपरिषदबाट हालै पारित सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) पश्चात् सशस्त्र प्रहरीमा तीन नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप हुँदा एक जना विकल्परहित ढंगले बढुवा हुनेछन् । अन्यमा भने कडा प्रतिस्पर्धा हुने भएको छ ।
कानुन महाशाखालाई स्तरवृद्धि गरी निर्देशनालय बनाइएकाले त्यहाँ डीआईजीको एकल दाबेदार युवराज अर्याल मात्रै हुन् । वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको काका नाता पर्ने युवराजलाई अबको केही दिनमै एउटा तारा भएको गाडीमा देख्न सकिन्छ । कानुन महाशाखामा एक जना मात्रै एसएसपी भएकाले डीआईजीका लागि उनको विकल्प नै छैन ।
उता, सशस्त्रमा नयाँ ओएन्डएममार्फत् इन्टेलिजेन्स ब्युरो र विपद् व्यवस्थापन महाशाखालाई स्तरवृद्धि गरी निर्देशनालय बनाइएको छ । अब यी दुवै महाशाखाको नेतृत्व डीआईजीले गर्नेछन् । सशस्त्र प्रहरीमा साधारण समूह साधारण उपसमूहमा १६ जना डीआईजी रहेकोमा अब बढेर १८ पुगेको छ । जसमा अहिले डीआईजीको एउटा दरबन्दी रिक्त छ ।
सरकारले अब सशस्त्र प्रहरीको साधारण समूह साधारण उपसमूहमा तीन जनालाई डीआईजी बढुवा गर्नेछ ।
अहिले एसएसपीको वरीयता क्रममा पहिलो नम्बरमा नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भई सशस्त्रमा स्थानान्तरण भएका कृष्णराज पाठक र दोस्रो नम्बरमा प्रहरीको प्राविधिक सेवाकै प्रवीण कँडेल छन् । त्यसपछि सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, किरण बस्नेतलगायत छन् । सिसं २ टोलीबाट दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन् ।
एसएसपीको पहिलो वरीयतामा रहेका पाठक कमजोर कार्यसम्पादनका कारण यसअघि तीन पटकको बढुवामा छुटिसकेका व्यक्ति हुन् । पाठकपछि कँडेल छन् । तर गत ११ र १२ असारमा भएको सशस्त्र प्रहरीको वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रको नेतृत्वप्रति आधारहीन आक्षेप लगाएका कारण उनीप्रति आईजीपी राजु अर्याल असन्तुष्ट छन् । त्यसमा पनि उनीहरू नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । सशस्त्रमै खुल्ला प्रतिस्पर्धाबाट इन्सपेक्टर बनेकालाई डीआईजी बन्न स्टाफ कलेज गर्नुपर्ने तर प्रहरीमा प्राविधिक सईमा भर्ना भएर आएकालाई गर्नु नपर्ने भन्ने विभेदकारी नीतिका कारण पनि उनीहरूलाई बढुवा दिन नहुने आवाज पछिल्ला दिनमा उठ्दै आएको छ । आईजीपी अर्याल पनि प्रहरीबाट आएका दुवै जनाप्रति बढुवाका लागि ‘सकारात्मक’ नरहेको स्रोतको भनाइ छ ।
बाहिनी र निर्देशनालय हाँक्ने जिम्मेवारीमा रहने डीआईजी पदमा योग्य र सक्षम व्यक्तिलाई अवसर दिनुपर्ने आवाज पनि उठिरहेको छ । यो स्थितिमा दिगविजय सुवेदी, कमल तिउसिना र किरण बस्नेतको बढुवा सम्भावना बढी रहेको स्रोतको भनाइ छ ।
उता, डीआईजीमा तीन जनाको बढुवा र हाल थपिएको एसएसपीको एउटा दरबन्दीका कारण एसएसपीमा चार जनाको बढुवा हुने छ ।
यो बढुवामा सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको दोस्रो लटका एसपी पर्नेछन् । २०७७ साल जेठ ५ गते भएको दोस्रो लटको बढुवामा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर राउत, सुभाष भण्डारी, राजेन्द्र थापा र द्रोणकुमार विष्ट परेका थिए । दोस्रो लटमा बढुवा भएका विजयकुमार केसी, प्रकाशकुमार सुवेदी, सुरेन्द्र बुढाथोकी, अर्जुन खत्री, जनकराज बस्नेत, सुभाष भण्डारी र द्रोणकुमार विष्टले स्टाफ कलेज गरेका छैनन् ।
सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको तेस्रो लटको बढुवा २०७७ माघ ११ गते भएको थियो । त्यतिबेला चित्रांगत दाहाल, गगन श्रेष्ठ, विक्रम होमागाईं, राजकुमार लामिछाने, प्रदीपसिंह कार्की, अरविन्द श्रेष्ठ, शशि पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, रूपकुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र विनोद केसी एसपीमा बढुवा भएका थिए । यो लटमा बढुवा भएकामध्ये प्रदीपसिंह कार्की, अरविन्द श्रेष्ठ, हर्कराज पन्त, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, प्रदीप खड्का र विनोद केसीले स्टाफ कलेज गरेका छैनन् ।
एसएसपीमा बढुवापछि रिक्त हुने चार र अहिले थपिएको तीनसहित एसपीमा सात जनाको बढुवा हुने छ ।
त्यसैगरी लेखा उपसमूहतर्फ एसपीको दुई दरबन्दी थप भएकाले डीएसपीहरु राजकुमार ढकाल र गणेशबहादुर मल्ल बढुवा हुनेछन् । ढकाल सिसं ४ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् भने मल्ल नेपाल प्रहरीमा असईमा भर्ना भएर पछि सशस्त्रमा आएका हुन् ।
मन्त्रिपरिषद्ले इन्जिनियरिङ उपसमूहतर्फ पनि ३ जना एसपीको दरबन्दी थप गरेको छ ।
यस्तै, नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) पश्चात् सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका ३ हजारभन्दा बढी कर्मचारीहरूको तत्कालै वृत्तिविकास हुने सशस्त्र प्रहरी बलले जनाएको छ । यसैगरी प्राविधिक समूह इन्जिनियरिङतर्फ १५/१६ वर्षदेखि एउटै पदमा रहेका प्राविधिक कर्मचारीहरूको वृत्तिविकासलाई समेत मध्यनजर गरी सशस्त्र प्रहरी वरिष्ठ हवलदार र सशस्त्र प्रहरी सहायक हवलदार गरी २ सय ३८ पदहरू आन्तरिक समायोजन मार्फत दरबन्दी सृजना गरिएको जनाइएको छ ।
‘सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाद्वारा शनिबार जारी विज्ञप्तिमा नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणले संगठनको आवश्यकताअनुसार कार्यालयहरूको स्तरवृद्धि, कार्यालयहरूको स्थायीकरण, कर्मचारीहरूको वृत्तिविकास र यसले संगठनको व्यावसायिक क्षमता र कार्यरत कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास गरिएको उल्लेख छ ।
पारित संगठन व्यवस्थापन तथा सर्वेक्षणका लागि विगत ३ वर्षदेखि विभिन्न चरणमा छलफल भएपश्चात् मात्र कार्यान्वयन भएको पनि विज्ञप्तिमा उल्लेख छ । नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणपश्चात् अस्थायी प्रकृतिका कार्यालयलाई स्थायी गरेसँगै प्रशासनिक र कानुनी कामकारबाही चुस्त, दुरुस्त हुनुका साथै बजेट व्यवस्थापनमा समेत सहजता हुने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रकाशन विद्यमान संगठनको आवश्यकता, औचित्यता र सशस्त्र प्रहरी बल नेपालको ऐन तथा नियमावलीबमोजिम संगठनका सबै समूह तथा उपसमूहमा सेवारत कर्मचारीहरूको वृत्तिविकास र कार्यालयहरूबाट सम्पादन गरिने कामकारबाहीलाई प्रभावकारी बनाउने गरी सांगठनिक पुनर्संरचना गरिएको जनाइएको छ ।
विज्ञप्तिमा इन्टेलिजेन्स ब्युरोको कामकारबाहीलाई थप प्रभावकारी बनाउनका लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमान्ड गर्ने गरी कार्यालयको स्तरबृद्धि गरिएको, सशस्त्र प्रहरी बल नेपालको प्रमुख म्यान्डेटको रूपमा रहेको विपद् व्यवस्थापन महाशाखा सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमान्ड गर्ने गरी निर्देशनालयको रूपमा स्तरबृद्धि गरिएको जनाइएको छ । साथै सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ४ को उपनियम ४ मा सशस्त्र प्रहरी बल नेपालको कानुन उपसमूहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पद रहने व्यवस्था रहेकोमा कानुन समूहबाट गरिने मानवअधिकार र लैंगिक विषय, विभागीय कारबाही प्रक्रिया, सशस्त्र प्रहरी ऐन बमोजिम गठित सशस्त्र प्रहरी विशेष अदालत सम्बन्धी कामकारबाही र सम्मानित अदालतहरूमा संगठनको तर्फबाट गरिने प्रतिरक्षा जस्ता अति संवेदनशील विषयहरूमा प्रभावकारी समन्वय र कार्यसम्पादनका लागि संगठनको आवश्यकता र औचित्यताको आधारमा महाशाखालाई निर्देशनालयको रूपमा स्तरवृद्धि गरी उल्लेखित तीनवटै कार्यालयहरूमा आन्तरिक समायोजन मार्फत सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूको दरबन्दी सृजना गरिएको उल्लेख छ ।
यसैगरी काठमाडौं उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गण कीर्तिपुरलाई रेजिमेन्ट गणको रूपमा स्तरोन्नति गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले कमान्ड गर्ने गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी सृजना गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको जनाइएको छ । विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान तथा कूटनैतिक नियोगसमेतको सुरक्षा हेर्ने गरी काठमाडौं कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई सशस्त्र प्रहरी उपरीक्षक पद सृजना गरी गणमा स्तरोन्नति गरिएको र सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा वाद्यवादन गुल्मलाई सशस्त्र प्रहरी उपरीक्षकको पद सृजना गरी सांगीतिक शिक्षालय बनाइएको छ ।
यसका साथै सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरूमा सशस्त्र प्रहरी नायव उपरीक्षकले कमान्ड गर्ने गरी र २ सय १५ वटा अस्थायी बीओपीलाई सशस्त्र प्रहरी निरीक्षक/नायव निरीक्षकले कमान्ड गर्ने गरी साथै कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका अस्थायी फिल्ड अस्पतालहरूमा स्वास्थ्यतर्फको प्राविधिक डा.सशस्त्र प्रहरी नायव उपरीक्षकले कमान्ड गर्ने गरी सशस्त्र प्रहरी नायव उपरीक्षक पद समायोजन मार्फत सृजना गरी ३ सय ९६ वटा अस्थायी कार्यालयहरूलाई स्थायी कार्यालयको रूपमा रूपान्तर गरिएको जनाइएको छ ।
विज्ञप्तिमा केही दिनयता विभिन्न अनलाइन पोर्टल तथा पत्रपत्रिकामा सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणका विषयलाई लिएर प्रकाशन भएका समाचारका विषयमा प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।
उता, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) रजनी थापाले तीन महिनाअघि दिएको राजीनामा स्वीकृत भएको छ । मंसिर ३ गते दिउँसो डीएसपी थापाको राजीनामा स्वीकृत भएको पत्र सशस्त्र प्रहरी मुख्यालय आएको हो ।
मंसिर ३ गते बिहान ११ बजेर ४२ मिनेट जाँदा लोकपथले डीएसपी थापाको राजीनामा लामो समयसम्म पनि स्वीकृत नभएको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको केही घण्टामै गृह मन्त्रालयबाट सशस्त्र मुख्यालयमा राजीनामा स्वीकृत भएको पत्र आएको हो ।
सिसं ५ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीएसपी थापाले पुल्चोकस्थित यूएन कार्यालयमा नियुक्ति पाएसँगै राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया