काठमाडौं । नेपाल प्रिमियर लीग (एनपीएल) मा म्याच फिक्सिङ गराउन नेपाल आएका एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधबार लाजिम्पाटबाट भारत हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका ८ मगरागढी स्थायी ठेगाना भई भारतको हरियाणा नै बस्ने २४ वर्षीया रेविका सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

भारतको हरियाणामै बसेर म्याच फिक्सिङको गिरोह चलाउने समूहले नेपाली खेलाडीहरूसँग सम्पर्क गरी म्याच फिक्सिङ गराउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
स्पन्सर गर्ने भन्दै पुगेका थिए खेलाडीको सम्पर्कमा
नेपालमा दोस्रो चरणको नेपाल प्रिमियर लीग (एनपीएल)को खेल तालिका सार्वजनिक भएपछि भारतीय गिरोहले नेपाली खेलाडीहरूलाई सम्पर्क गरेको पाइएको छ । प्रहरीका अनुसार गिरोहले सुरुमा रेविकाकै प्रोफाइल प्रयोग गरी नेपाली खेलाडीहरूसँग इन्स्टाग्राममा फलो गर्दै जोडिएकी थिइन् । सुरुमा इन्स्टाग्राममा जोडिएर कतिपयसँग ह्वाट्सएपमा समेत कुराकानी भएको पाइएको छ ।
रेविका सुरुमा एनपिएल खेल्न लागेका खेलाडीहरूसँग स्पन्सर गर्ने भन्दै सम्पर्कमा आएकी थिइन् । कुन कम्पनी र के कसरी स्पन्सर गर्ने हो भन्दा स्पष्ट जवाफ नआएपछि अधिकांश खेलाडीले रेविकाको कुरामा विश्वास नगरी बसेका थिए ।
तर एक नेपाली खेलाडीले आफूले स्पोन्सर्ड खोजिरहेको बताइएपछि रेविकाले ती खेलाडीलाई म्याच अवधिभर स्पन्सर गर्ने भन्दै भेटेरै कुरा गर्ने बताएकी थिइन् ।
ती नेपाली खेलाडीले पनि आफू बाहिर जान त नमिल्ने तर आफू बसेको होटेलमै आएर कफी खाएर भेट्न सकिने बताएपछि रेविका भारतीय नागरिक दिलप्रित सिंहलाई लिएर खेलाडीहरू बसेको होटेलमा भेट्न पुगेकी थिइन् ।
एक रन आउटमा एक करोडको अफर
भेटका क्रममा दिलप्रितले एक म्याचमा एक पटक रन आउट हुँदा एक करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए । खेलका दौरान ती खेलाडी रन आउट हुनुपर्ने र त्यसबापत प्रत्येक म्याचमा एक करोड पाउने प्रस्ताव गरिएको थियो । प्रत्येक म्याचमा रन आउट वा अन्य कारणबाट आउट हुँदा एक एक करोडको प्रस्ताव आएपछि ती खेलाडीले सो कुरा आफ्नो टिमबाटै प्रहरीकहाँ पुराएका थिए ।

स्पन्सरको कुरा भनिएपनि म्याच फिक्सिङका लागि प्रस्ताव आएपछि ती नेपाली खेलाडीले गिरोहलाई अल्झाउँदै प्रहरीमा खबर गरेपछि प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरूको गिरोहले अन्य व्यक्तिहरूलाई पनि प्रस्ताव गरेको पाइएको र यो गिरोह कहाँबाट कसरी सञ्चालित छ भनेर खोजी भइरहेको बताए ।
साथै हरियाणाकै समूहले करिब ८ वर्षअघि नेपालमा डमी एसियन प्रिमियर लीग खेलाएर म्याच फिक्सिङ गराएको कारण सो प्रकरणसँग जोडेर पनि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया