कविता : आऊ साथी एउटा पार्टी खोलौँ

लोकपथ
714
Shares

आऊ साथी, एउटा पार्टी खोलौँ

निर्वाचन किन नगर्ने ? गर्ने–गरिने भनौँ,

जेन एक्स, जेन वाई, जेन जेड सबैलाई सँगै मिलाऔँ।

हुने–नहुने वाचा लेखी ठूलो घोषणापत्र छापौँ,

आऊ साथी, अब त एउटा पार्टी खोलौँ।

श्रीमतीलाई अध्यक्ष बनाऔँ, श्रीमानलाई संरक्षक राखौँ,

भ्रष्टाचार–कुशासन विरुद्ध ठूलो– ठूलो नारा चढाऔँ।

सपना बाँड्दै–बाँड्दै देश बदल्ने गीतै गाउँदै

आऊ साथी, फेरि एकचोटि एउटा पार्टी खोलौँ।

रेल–जहाज मात्र होइन, चन्द्रमासम्म उड्ने वाचा बेचौँ,

आफू बाहेक सबैलाई विदेशीको एजेण्ट ठहराऔँ।

धेरै बोल्छन् भने जेन्जीलाई ल्याएर त्यहीँ ठोकौँ,

आऊ साथी, सजिलैसँग अर्को एउटा पार्टी खोलौँ।

हार्ने भइयो भने चुनाव क्षेत्रै साटेर भागौँ,

जितियो भने पार्टी नै बेचौँ।


गाली–घृणाका कारखाना बोकी समाजभरि घुमौँ,

आऊ साथी, फेरि—उही पुरानै कुरा— एउटा पार्टी खोलौँ।

कोइराला भेषराज
उपसचिव, नेपाल सरकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?