काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि सिंहदरबारमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति आफू सचेत र सजग रहेको बताए । उनले भने, ‘देशमा सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा असाधारण छ, त्यसप्रति म पूर्ण सचेत छु ।’
उनका अनुसार नेपाल प्रहरीले नेपाल सरकार, गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्नेछ । उनले प्रहरी संगठनको मनोबल उच्च राख्दै जनअपेक्षाअनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता पनि जनाए ।
आईजीपी कार्कीले एकातिर प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनर्स्थापना तथा आसन्न निर्वाचनका लागि आवश्यक हतियार, सवारीसाधन र स्रोतहरूको सुनिश्चितता गर्नुपर्ने बताए भने अर्कातर्फ प्रहरीहरूको मनोबल उकास्न पनि उत्तिकै जरुरी रहेको उल्लेख गरे ।
उनले देशमा लागूपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका समस्या चिन्ताजनक रूपमा बढ्दै गएको बताउँदै यी चुनौतीहरू समाधान गर्न उच्च मनोबलयुक्त र भौतिक रूपमा सुदृढ प्रहरी संगठन निर्माणको आवश्यकता औँल्याए ।
सूचना प्रविधिको तीव्र विकास र अपराधका प्रवृत्तिमा आएको परिवर्तनका सन्दर्भमा उनले प्रहरी संगठनले जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताए । साथै, प्रहरीलाई आवश्यक पोषण र स्रोतको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव पनि दिए ।
कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह लगाएका थिए ।
पूर्व आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्कीको जिम्मामा आएको हो । मन्त्रिपरिषद्ले कात्तिक २५ गतेको बैठकबाट कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया