मधेसमा मन्त्री बन्न गएकी कञ्चनलाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

लोकपथ
539
Shares

काठमाडौं । पार्टीको नीतिविपरित मधेस प्रदेशको मन्त्री बन्न गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कञ्चन विच्छा साहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सोमबार मधेस प्रदेशकी राप्रपा सांसद साह एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका मन्त्री बनेकी थिइन् ।

राप्रपाको अनुशासन समितिका सचिव भक्तिप्रसाद सिटौलाले २४ घण्टे स्पष्टीकरण सोध्दै त्यसबारे कारण माग गरेका हुन् ।

‘पार्टी र पार्टीका नेतृत्व सँग कुनै छलफल र परामर्शबिना तपाई नेकपा एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठित मन्त्रीमण्डलमा समावेश भएकोले पार्टीको नीति, सिद्धान्त र हित विपरित हुने गरि गैह्रजिम्मेवारपूर्ण एवं अनुशासनहिन कार्य गर्नु भएको देखिन्छ सो सम्बन्धमा तपाइलाई राप्रपाको विधान २०४८ ( शंसोधन सहित २०७८) को दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो? नपर्ने भए प्रमाणसहित २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न हुन केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ स्पटीकरण पत्रमा भनिएको छ ।

त्यसो त राप्रपाले जेनजी आन्दोलनपछि संघीय संसदका १४ सहित २८ सांसदहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेको थियो । नवगठित सरकारमा मन्त्री बन्न साह गएसँगै राप्रपा आफ्नै निर्णयमा अडिग नरहेको भन्दै आलोचना समेत भइरहेको छ ।

यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार नै उनीमाथि खबरदारी गर्दै उनको निर्णय गलत रहेको भन्दै आलोचना गरेका थिए ।

मधेसका मुख्यमन्त्रीबाट जितेन्द्र सोनारले राजीनामा दिएसँगै तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् । उनले ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनाएको मात्र नभइ होटेलमा नै शपथग्रहण गराएसँगै उनको पद समेत गएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हटाउँदै सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?