सतिशकुमार सिंह मुख्यमन्त्री छाड्ने बित्तिकै नयाँ दलमा लागेपछि मधेसमा लफडा

लोकपथ
5.6k
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका सतिशकुमार सिंह जनमत पार्टी छाडेर नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा सनाखत भएका छन् ।

मधेसमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गरेका हुन् ।

बुधबार मधेस प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयास गरेका थिए । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत पक्षका कार्यकर्ताहरू झाडु र लट्ठी लिएर उपस्थित हुँदै सिंहको सनाखत रोकेर विरोध प्रदर्शन गरेका थिए । यस क्रममा सिंह पक्ष र राउत पक्षका कार्यकर्ताबीच केही समय तनावपूर्ण झडप समेत भएको छ ।

मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री त्रिभूवन साहले पनि जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।

जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गते सिंहले राजीनामाको घोषणा गरेका थिए । तर उनले माहोल शान्त भएपछि पद नछाडेको भन्दै चौतर्फी आलोचना भएको थियो । उनलाई समर्थन गरेका सबै दलहरुले साथ छाड्दा पनि उनले प्रदेश सभाबाट विश्वासको मत लिने बताएका थिए । उनले मंगलबार रोष्ट्रमबाटै राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनका लागि आह्वान भएको थियो । आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गरेको छ ।

यता मुख्यमन्त्री सिंहले नयाँ दलमा समर्थन जनाएपछि मधेस प्रदेशमा सरकार गठन प्रक्रियामा नै अमलमलता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?