दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

लोकपथ
119
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । 

त्यसै गरी कास्की, चितवन, धादिङ र काठमाडौंका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिंह बोहराले जानकारी दिए । बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो । 

लमजुङ कारागारबाट छ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो । दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ । आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘एक सयको हाराहारीमा कैदीबन्दी कारागार आउन सक्छन्, तर केही जघन्य अपराधका कैदीबन्दी फरार हुन सक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ ।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?