काठमाडौँ । आगामी असोज १७ गते देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना भएपछि नदीमा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह समेत गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै विशेष गरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । यस अवधिमा नारायणी, बागमती, कमला र कोसी नदीमा पानीको बहाव खतरा तह नजिक पुग्न सक्ने देखिएको छ । साथै, स-साना नदीमा आकस्मिक बहाव, डुबान र पहिरोको जोखिम उच्च हुने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही र रौतहट लगायतका जिल्लामा जोखिम बढी हुने भएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
दसैँको भिडभाडलाई दृष्टिगत गर्दै प्राधिकरणले अत्यावश्यक नभएसम्म यात्रा नगर्न, विशेष गरी रातिको समयमा सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन सक्ने र सो निर्णय पालना गर्नुपर्नेमा पनि प्राधिकरणले जोड दिएको छ ।
त्यस्तै, पहिरो सम्भावित क्षेत्र तथा नदी किनारका बस्तीमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन, डुबान हुने सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन आग्रह गरिएको छ । आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने तयारी गर्न पनि सूचनामा भनिएको छ ।
प्राधिकरणले तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थाहरूलाई पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सक्रिय रहन भनिएको छ । साथै, जोखिमयुक्त सडक र राजमार्गमा तुरुन्त परिचालन गर्न डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया