काठमाडौं । नेपाली समाजमा सुनलाई सुखको गहना र दुःखको खजाना भन्ने भनाइ धेरै पुरानो हो । यसको अर्थ, मानिसहरू खुसीको समयमा सुनलाई गहनाका रूपमा प्रयोग गर्छन् भने कठिन परिस्थिति आएको बेला त्यही सुन बेचेर समस्या समाधान गर्छन् । यही कारणले गर्दा नेपाली समाजमा सुनलाई केवल गहनाको रूपमा मात्र नभई जीवनको संकट व्यवस्थापन गर्ने साधनको रूपमा पनि लिने गरिएको छ ।
नेपालमा सबै वर्गका मानिसहरू छन् । ती सबै वर्गका मानिसले जति सक्छन् आफ्नो क्षमताअनुसार सुनचाँदीका गरगहना बनाउने गर्छन् । गहना बनाउने मात्रै नभई भविष्यमा आवश्यक परेको खण्डमा बेचेर काम टार्ने सोचसमेत बनाएका हुन्छन् । किनभने सुन कागजी प्रमाणपत्र हो, यसलाई जसले पनि जति बेला पनि किनबेच गर्न सक्छ । सुनले आपतकालीन अवस्थामा नगदबराबरको काम गर्छ ।
अहिले मात्र नभएर सुनको महत्वलाई प्राचीन ग्रन्थ वेदमा समेत उल्लेख गरेको भेटिन्छ । विज्ञानले पनि देखाउँछ कि सुन सूर्य र अग्निका शक्तिशाली प्रतिक्रियाबाट बनेको विशेष धातु हो, जुन सजिलै प्राप्त गर्न सकिँदैन । यही कारणले सुनलाई बहुमूल्य धातु पनि भनिन्छ ।
नेपालमा पछिल्लो समय सुन–चाँदीको मूल्य लगातार उकालो लागिरहेको छ । सुनको मूल्य दैनिक रूपमै उकालो लाग्दा उपभोक्ता मात्र नभएर व्यापारी र लगानीकर्तासमेत प्रभावित भएका छन् । सुनचाँदीको मूल्यमा पनि निरन्तर वृद्धिको क्रम देखिएको छ । यसले नेपाली बजारमा सुन–चाँदी खरिद गर्ने उपभोक्ता, लगानीकर्ता र आभूषण व्यवसायी सबैलाई प्रत्यक्ष असर पारिरहेको छ ।

हामीले मात्र नभएर विश्व बजारमा सुनलाई लगानीकर्ताले सधैँ सुरक्षित सम्पत्तिको रूपमा हेर्ने गर्छन् । यही सुरक्षित सम्पत्ति वा बहुमूल्यवान धातुको मूल्य हालका दिनमा लगातार बढिरहेको छ । गत सातामात्रै सुनले दिनहुँ नयाँ रेकर्ड तोड्दै गएको थियो । यस साताको पहिलो दिन अर्थात् भाद्र २२ गते सुनको मूल्य पुनः बढेर तोलामै २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
सुनचाँदीको मूल्य बढ्नुको मुख्य कारण
अहिले विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, भू–राजनीतिक तनाव र अमेरिकी अर्थतन्त्रसँग जोडिएका वित्तीय नीतिहरूले सुनको माग अन्तर्राष्ट्रियस्तरमै बढाएको छ । यसमा अमेरिका र चीनबिचको व्यापारिक तथा राजनीतिक तनाव, अमेरिकी फेडरल रिजर्भको ब्याजदर नीति, युरोप र मध्यपूर्वमा बढ्दो अस्थिरता मुख्य कारण रहेका छन् । यी कारणहरूले गर्दा लगानीकर्तालाई अन्यत्र भन्दा सुनमा लगानी गर्नु सुरक्षित महसुस भएको छ र आकर्षित गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुन महँगो भएपछि नेपालमा समेत यसको प्रत्यक्ष असर परेको हो ।
विश्वभरि सुन मात्र एउटा त्यस्तो वस्तु हो जसलाई लगानीकर्ताले सबैभन्दा भरपर्दो र सुरक्षित सम्पत्तिका रूपमा हेर्ने गर्छन् । किनभने आर्थिक अनिश्चितता वा बजारको ठूलो उतारचढावमा पनि सुनले मूल्य सुरक्षित गर्ने गर्छ ।
आर्थिक अनिश्चितताको समयमा लगानीकर्ताहरूका लागि यो बहुमूल्य धातु सुनलाई सुरक्षित सम्पत्तिको रूपमा हेरिन्छ र यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक शुल्क घोषणा गरेपछि यसको मूल्य बढेको थियो । जसले विश्वव्यापी व्यापारलाई उथलपुथल पारेको छ ।

हाल रुस–युक्रेन युद्ध चलिरहेको छ, जसको प्रभावले गर्दा विश्वमा राजनीतिक तनाव र व्यापार विवाद बढिरहेको छ । जसले गर्दा लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सुनमा लगानी गरिरहेका छन् । यसकारण पनि सुनको मागसँगै मूल्यमा पनि वृद्धि भइरहेको छ ।
मुद्रास्फीतिबाट बच्नका लागि लगानीकर्ताले सुनमा लगानी गर्न थाल्छन् र सुनको मूल्य बढेको देखिन्छ ………
ट्रम्पले मेक्सिको, क्यानडा र चीनमाथि नयाँ कर लगाएको र विश्वभरको सेयर बजारमा गिरावट देखिएको छ । ट्रम्पको यो कडा कदमले विश्वमा व्यापार युद्ध हुने सम्भावना बढाउँदै छ । उच्च शुल्कले आपूर्ति बिगार्छ, उत्पादन महँगो बनाउँछ र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने हुन्छ । यही कारणले विश्वव्यापी रूपमा मुद्रास्फीति बढ्ने डर हुन्छ । जसले गर्दा मुद्रास्फीतिबाट बच्नका लागि लगानीकर्ताले सुनमा लगानी गर्न थाल्छन् र सुनको मूल्य बढेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको अवस्था
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब २ हजार ५ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन विगत एक वर्षको उच्च मूल्य मानिन्छ । विश्लेषकहरूले यसलाई ‘सेफ हेभेन डिमान्ड‘ अर्थात् अनिश्चितताको समयमा सुरक्षित लगानीतर्फको आकर्षणको नतिजा भनेका छन् । चाँदी पनि औद्योगिक मागसँगै बढ्दो छ ।
नेपाली बजारमा असर
नेपालमा सुनको मूल्य बढ्दा आभूषण खरिद गर्ने सामान्य जनताले बढी मूल्य तिर्नुपर्ने हुन्छ । विवाह, पूजाआजा वा सामाजिक अवसरका लागि सुन किन्ने परम्परा भएकाले धेरै परिवारलाई आर्थिक दबाब परेको छ । अर्कोतर्फ, सुनमा लगानी गर्ने उच्च आयवर्ग भने यसलाई पुँजी सुरक्षित राख्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन् । सुन व्यवसाय गर्ने पसल र ज्वेलर्सहरूले कारोबारमा गिरावट भएको गुनासो गरेका छन्, किनकि खरिदकर्ताको संख्या घटिरहेको छ ।
नेपाली पैसाको अवमूल्यन, अमेरिकी डलरको मूल्य बढ्नु र सरकारले सुन किन्दा थपेको विलासिता शुल्कले समेत मूल्य बढाएको छ….
नेपाली बजारमा सुनको मूल्य बढ्नुमा स्थानीय कारकहरू पनि रहेका छन् । नेपाली पैसाको अवमूल्यन, अमेरिकी डलरको मूल्य बढ्नु र सरकारले सुन किन्दा थपेको विलासिता शुल्कले समेत मूल्य बढाएको छ । अहिले सुनका गहना बनाउँदा अतिरिक्त २ प्रतिशत विलासी कर तिर्नुपर्छ, जसले सुनलाई अझ महँगो बनाएको छ ।
डलरको मूल्य र सुनचाँदीको सम्बन्ध
नेपालमा सुनचाँदी आयातमुखी वस्तु भएकाले अमेरिकी डलरको मूल्यसँग यसको प्रत्यक्ष सम्बन्ध छ । डलर महँगो हुँदा नेपालले आयात गर्ने सुनचाँदीको मूल्य बढ्छ, जसले बजार मूल्य उकालो बनाउँछ । पछिल्ला हप्तामा डलर बलियो भएको कारण पनि नेपाली बजारमा सुनको मूल्य थप महँगो भएको छ ।
सुनचाँदीको मूल्यवृद्धिले प्रभावित क्षेत्र
आभूषण बजार – खरिदकर्ताको संख्या घट्दा पसलहरूको बिक्री घटेको छ ।
साधारण उपभोक्ता – विवाह वा अन्य अवसरमा खर्च बढेको छ ।
लगानीकर्ता – सुनलाई सुरक्षित लगानीका रूपमा हेर्दा बढी आकर्षित भएका छन् ।
उद्योग क्षेत्र – सुनचाँदीको मूल्य बढ्दा इलेकट्रोनिक्स र अन्य उद्योगमा लागत बढेको छ ।
पाँच वर्षमा नेपालमा सुनको मूल्य वृद्धिको यात्रा
पछिल्ला पाँच वर्षमा नेपाली सुन बजारमा अत्यधिक वृद्धि देखाएको छ । मार्च २०१९ मा करिब प्रतितोला ७५ हजार रुपैयाँ रहेको सुनको मूल्य अहिले २ लाख १२ हजार रुपैयाँ पुगिसकेको छ ।
सन् २०२० को फेब्रुअरीमा सुनको मूल्य तोलामा ८० हजार ३ सय रुपैयाँ पुगेपछि कोभिड–१९ महामारी र विश्वमै आर्थिक अस्थिरता आउँदा सुनलाई सुरक्षित लगानी भन्दै खरिद चाप आएको थियो । त्यसपश्चात् सन् २०२३ मा १ लाख १० हजार पुगेको सुनको मूल्यले त्यसपछि रेकर्ड नै रेकर्ड बनायो ।
२०२५ मा मात्र सुनको मूल्य दुई चरणमा उल्लेख्य वृद्धि भयो, पहिले मार्चमा १ लाख ७६ हजार ८ सय पुगेको थियो भने अप्रिलमा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । आजको मितिमा सुनकै मूल्य सबैभन्दा धेरै अर्थात् २ लाख १२ हजार रुपैयाँ प्रतितोला पुगेको छ ।
Price Trends in Bhadra Month (2073-2082)
Visualizing the maximum and minimum prices during the month of Bhadra over the last 10 years
Highest Price
Recorded in 2082
Lowest Price
Recorded in 2073
Average Price
Across all years
| Year (B.S.) | Max Price | Min Price | Average | Year (A.D.) |
|---|---|---|---|---|
| 2073 | 56,300 | 53,200 | 54,750 | 2016 |
| 2074 | 57,800 | 55,300 | 56,550 | 2017 |
| 2075 | 58,200 | 55,600 | 56,900 | 2018 |
| 2076 | 73,500 | 70,200 | 71,850 | 2019 |
| 2077 | 98,800 | 100,400 | 99,600 | 2020 |
| 2078 | 91,600 | 90,300 | 90,950 | 2021 |
| 2079 | 99,900 | 100,000 | 99,950 | 2022 |
| 2080 | 113,000 | 110,500 | 111,750 | 2023 |
| 2081 | 157,300 | 141,400 | 149,350 | 2024 |
| 2082 | 212,000 | 193,500 | 202,750 | 2025 |
विश्लेषकहरूको अनुसार यसको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा सुनको बढ्दो माग, डलरको उतार–चढाव र भू–राजनीतिक तथा वित्तीय अस्थिरताहरू हुन् ।
भविष्यको सम्भावना
विशेषज्ञहरूका अनुसार निकट भविष्यमा सुन अझै बढ्ने सम्भावना छ । अमेरिकी अर्थतन्त्रमा ब्याजदरको अनिश्चितता, विश्व बजारमा बढ्दो तनाव र डलरको उतारचढाव सुनको मूल्य बढ्नुका प्रमुख कारणहरू हुन् । यदि अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटायो भने डलर कमजोर हुन्छ र सुन थप महँगो हुने अनुमान गरिएको छ । यस्तो अवस्थामा सन् २०२५ को अन्तसम्ममा नेपालमा सुनको मूल्य वृद्धि भई तोलामै २ लाख ३५ हजारको हाराहारीमा पुग्ने अनुमानसमेत गरिएको छ । त्यस्तै, कुनै ठूलो भू–राजनीतिक संकट (मध्यपूर्व वा एसिया–प्रशान्त क्षेत्रमा) भएमा सुनको माग फेरि पनि बढ्ने र मूल्यमा अझै वृद्धि हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया