काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा आज साँझ सांगीतिक कार्यक्रम आयोजना गर्न लागेका छन् ।
कार्यक्रममा चर्चित युवा गायक नितेश जंग कुँवर मुख्य आकर्षणका रूपमा प्रस्तुत हुनेछन् ।
त्यसैगरी, स्थानीय कलाकार शुभम एण्ड द ब्याण्ड र मृत्युन्जय ले पनि आफ्नो प्रस्तुति मार्फत साँझलाई थप रोमान्चक बनाउनेछन् । कार्यक्रम साँझ ४:३० बजे सुरु हुनेछ र टिकट मूल्य प्रतिव्यक्ति २०० तोकिएको छ ।
तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकहरूलाई निःशुल्क प्रवेश दिइनेछ । यस विशेष पहलमार्फत टिमले आफ्ना समर्थकप्रति आभार व्यक्त गर्दै ‘कोशीको गौरव, हाम्रो पहिचान’ भन्ने मूल मन्त्रमा दर्शकलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।
विराटनगर किङ्सका मालिक वेङ्कटेश मुन्द्रा का अनुसार, ‘विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्ध गर्दै आएको छ। अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौँ । यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन आयोजना गरिएको हो ।’
नेपाल क्रिकेट संघका अनुसार, आगामी नेपाल प्रिमियर लिगमा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया