काठमाडौं । १० ग्रामभन्दा बढी लागूऔषध ब्राउन सुगरसहित समातिएका एक भरियालाई ५ वर्षको जेल सजाय तोकिँदा मुख्य कारोबारीलाई भने अदालतले सफाइ दिएको छ । प्रतिवादीसँग लागूऔषध बरामद नभएको मात्रै कारण देखाएर मुख्य प्रतिवादीले सफाइ पाउँदा ओसारपसारमा संलग्न भरियालाई भने ५ वर्षको कैद सजाय सुनाइएको हो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले ब्राउन सुगरका मुख्य कारोबारी विवेक खुलाललाई सफाइ दिँदा भरिया रहेका धिरज कुमार झालाई भने ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।
गत जेठ २५ गते नै फैसला भएको भए पनि जिल्ला न्यायाधीश घिमिरेले यो फैसला भने भदौ २ गते सोमबार मात्रै दिएका हुन् । यद्यपि प्रमाणीकरणको मिति भने २०८२ साउन २८ गते नै राखिएको छ ।

लामो समय फैसला नै नदिई होल्डमा राखिएको उक्त मुद्दामा फैसला लेख्ने क्रममा भने निकै मिहेनत गरिएको छ । विवेक खुलाललाई सफाइ दिने गरी भएको फैसलामा विवेक खुलालको बयानलाई मात्रै आधार लिई सफाइ दिइएको छ जबकि उनले कारोबारको रकम ट्रान्सफर गरेको, प्रतिवादीसँग टेलिफोनमा कुरा गरेको प्रमाण प्रहरीले पेस गरेको थियो । तर अदालतले भने विवेक खुलालले दिएको झूटो बयानलाई मात्रै आधार लिई उनलाई सफाइ दिएको पाइएको छ ।
पहिले घटना के हो, त्यो बुझौँ ।
२०८१ पुस १ गते अपराह्न १:३० बजे मोरङको रंगेली नगरपालिका ५ रामघाट टोलबाट धिरज कुमार झा १० ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परे । चेकजाँचको क्रममा उनी पक्राउ परेपछि बयान लिँदा उनले आफू लागू औषधको भरिया रहेको र एक पटक ओसारपसार गरी दिँदा १ हजार रुपैयाँ पाउने गरेको बयान दिए ।
उक्त दिन आफूसँग रहेको ब्राउन सुगर अक्रम भन्ने भारतीय नागरिकसँग लिएर ९८२३१०८४८१ का प्रयोगकर्तालाई दिन लागेको बयान दिए । खासमा उक्त मोबाइल नम्बरको प्रयोगकर्ता अरू कोही नभएर लागूऔषध नियन्त्रण ब्युरोको प्रहरीको थियो र प्रहरी धिरजलाई पक्राउ गरी यसको जालो समाउन चाहन्थ्यो ।
पक्राउपछि धिरजले के भने ?
१० ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेपछि धिरजले आफू लागू औषधको भरिया मात्रै रहेको र एक पटक एक ठाउँबाट ल्याई अर्को ठाउँमा दिँदा १ हजार रुपैयाँ पाउने गरेको बयान दिए ।
धिरजको बयान यस्तो थियो ।
‘म पक्राउमा पर्नु भन्दा करिब १० दिन अगाडी देश भारत जिल्ला अररिया उप्रेल चोकमा बस्ने अक्रम भन्ने मुस्लिम समुदायको साथीसँग चिनजान भएको थियो । निज साथीले मलाई तपाईँलाई छिटो पैसा कमाउने काम म दिन्छु तपाईँले मैले दिएको माल (ब्राउन सुगर) मैले भनेको मानिसलाई दिनु पर्छ, एक पटक काम हुँदा नेपाली एक हजार दिन्छु । भारतबाट माल म आफै लिएर आई बोर्डर पार गराइदिन्छु भनेपछि मलाई पनि छिट्टै पैसा कमाउने लोभ लालच लागि निजको कुरामा सहमति जनाई निजले भने अनुसार मैले पक्राउ पर्नु भन्दा अगाडी निज अक्रमले मलाई ४ पटक माल (ब्राउन सुगर) नेपाल भारत सिमाना नाकामा ल्याई मैले रिसिभ गरी मेरो साथमा राखेको र सो माल लिन निज अक्रमले नै चिनजान गराएको जिल्ला मोरङ बेलबारी घर बताउने विवेक भन्ने मानिसले अक्रमले सौदा गरे अनुसारको रकम मेरो साथीहरू ध्रुब कुमार मण्डल र विपुलकान्त मिश्राको बैंक खाताहरूमा मोबाइल बैंकिङ मार्फत रकम पठाएपछि मैले निज विवेकलाई अर्डर अनुसारको ब्राउन सुगर दिई पठाउने गरेको थिएँ । भारतीय साथी अक्रमले भने अनुसार मैले प्रति १ ग्राम को ने. रु. पाँच हजारको दरले लागू औषध ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको थिए । मैले मेरो साथीहरू ध्रुब कुमार मण्डल र विपुलकान्त मिश्राको खातामा फोन पे, ईसेवा मार्फत विवेकले पठाई जम्मा भएको रकम निजहरूबाट नगदै लिई अक्रमलाई खबर गरी निज नाकामा आई पैसा लिएर जाने गरेको र प्रत्येक पटक मलाई नेपाली रुपैयाँ रु. एक हजार दिई जाने गरेको थियो ….. ।’

धिरजको बयानबाट यो कुरा स्पष्ट हुन्छ कि ब्राउन सुगर लिने व्यक्ति विवेक नाम गरेका व्यक्ति थिए र यसभन्दा अगाडि ४ पटक उनले अक्रमबाट लागूऔषध ल्याई विवेकलाई दिएका थिए ।
प्रहरीले विवेकको खोजीका लागि पहिले विपुलकान्त मिश्रा र ध्रुब कुमार मण्डललाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । अनुसन्धानमा लागुऔषध कारोबारमा उनीहरूको प्रत्यक्ष सम्बन्ध नदेखिएको भए पनि विवेक नाम गरेका व्यक्तिले विपुलकान्त मिश्राको मुक्तिनाथ विकास बैंकमा रहेको खातामा रकम ट्रान्सफर गरिएको भेटिएको थियो ।
यता धिरजले पनि विवेकसँग कुरा हुने गरेको मोबाइल नम्बर ९८१३८२९६९३ प्रहरीलाई उपलब्ध गराए ।
त्यसपछि प्रहरीले विवेक नाम गरेका व्यक्तिको बैंक खाताको डिटेल हेर्दा उनी भेटिए, मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ ढुकुर टोल बस्ने २४ वर्षीय विवेक खुलाल । त्यस लगत्तै प्रहरीले विवेकलाई समेत पक्राउ गर्यो ।
विवेकले फाले कारोबारसँग जोडिएको मोबाइल नम्बर
प्रहरीले जति बेला विवेक खुलाललाई पक्राउ गर्यो, त्यति बेलासम्म विवेकले आफू विरुद्ध लाग्न सक्ने प्रमाणहरू नष्ट गरिसकेका थिए । प्रहरी कार्यालय नजिकै घर रहेका विवेकलाई धिरज पक्राउ परेको जानकारी आइसकेको थियो । त्यस लगत्तै उनले आफूले प्रयोग गर्ने गरेको मोबाइल सेट र सिम कार्ड लुकाइसकेका थिए । उनी यतिसम्म चलाख थिए कि लागू औषधको कारोबारका लागि प्रयोग गर्ने गरेको मोबाइल नम्बरसमेत आफ्नो विदेशमा रहेका साथीको प्रयोग गरेका थिए ।
अनुसन्धानमा धिरजलाई चिन्दिन भने, तर फोनमा कुराकानी गरेको भेटियो
विवेक खुलालले आफ्नो अनुसन्धानका क्रममा धिरज कुमार झालाई आफूले कहिल्यै नचिनेको बताए । तर धिरजले विवेक पक्राउ पर्ने बित्तिकै आफूले ४ पटक लागूऔषध दिएको विवेक भन्ने व्यक्ति रहेको भन्दै सनाखत गरेका थिए ।

धिरज र विवेकबिच २०८१ पुस १ गते सोमबार मध्यान्ह १२ बजेर ४९ मिनेट जाँदासमेत कुराकानी भएको थियो । प्रहरीले उक्त कुराको पुष्टि हुने प्रमाण समेत अदालतमा पेस गरेको थियो ।
अनि विवेकले बयान फेरेर भने, ‘मोबाइल त पहिले नै हराएको हो’
यता पहिले आफूले धिरजलाई चिन्दिन भनेका विवेकले सुरुमा ९८१३८२९६९३ नम्बर आफ्नो रहेको तर अहिले मोबाइलसहित सेट नै हराएको बयान दिएका थिए । तर पछि धिरजसँग धिरज पक्राउ परेकै दिन कुराकानी भएको प्रमाण पेस गरेपछि उक्त नम्बर एक वर्ष अगाडि चलाएको तर अहिले आफूसँग नरहेको झूटो बयान दिए ।
हेर्नुहोस्, विवेकले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयान :
‘म पक्राउ प्रतिवादी धिरज कुमार झालाई चिन्दिन । निजसँग कुनै पनि माध्यमबाट चिनजान छैन । निजको साथबाट लागू औषध बरामद भएको र निजले लागू औषध कारोबारमा मेरो नाम पोल गरेको भनी मलाई प्रहरीले पक्राउ गरे पश्चात् मात्रै थाहा पाएको हो । मैले प्रतिवादी धिरज कुमार झाबाट लागू औषध खरिद गरेको छैन । लागू औषध कारोबारमा मेरो कुनै संलग्नता छैन । निजले के कुन कारणले निजसँग बरामद भएको लागू औषधमा मेरो नाम पोल गरेका हुन् मलाई थाहा भएन । निजबाट बरामद भएको लागू औषधको जिम्मेवारी मैले लिनु पर्ने होइन ।’

विवेकले धिरजलाई चिन्दिन भनेर सुरुवाती बयान दिए पनि विवेकले धिरजबाट किनेको लागू औषधको पैसा विपुलकान्त मिश्राको बैंक खातामा पठाएको र कुराकानी भएको प्रमाण भेटिएपछि प्रहरीले विवेकसँग ततिम्बा बयान लिएको थियो । उक्त बयानमा विवेकले उक्त नम्बरको सिम कार्ड पहिले आफूले चलाएको तर एक वर्ष अगाडि नै हराएको तर अहिले अरू कसैले दुरुपयोग गरेको भन्ने बयान दिए ।
उनले ततिम्बा बयानमा भनेका छन्,
‘अभिषेक बरालसँग मेरो ४।५ वर्ष पहिले देखि भेटघाट र बोलचाल समेत भएको छैन । मेरो साथीहरूको फेसबुकमा निज अस्ट्रेलियातर्फ पढ्न गएको भनी फोटो पोस्ट भएको देखिएको हुँदा मैले सोही कुरा अन्दाज गरी निज अस्ट्रेलियातर्फ गएको भनी आफ्नो बयानमा खुलाएको हो । निज हाल के कहाँ छन् मलाई थाहा छैन । मैले प्रयोग गर्दै आइरहेको सम्पर्क नं. ९८१३८२९६९३ भएको मोबाइल सहित हराएको हुँदा उक्त मोबाइल उक्त मितिमा मैले प्रयोग गरेको थिइन ।’
यसरी लागूऔषध ब्राउन सुगरको मुख्य कारोबारी वा प्रयोगकर्ता रहेका विवेक खुलालले आफ्नो बयानमा पटक पटक बयान मात्रै फेरेका छैनन्, अभियोगबाट उन्मुक्ति पाउन प्रमाण नष्ट गर्ने कामसमेत गरेका छन् ।
विपुलकान्तले समेत पोल गरे विवेकलाई
यता लागूऔषध कारोबारमा मुछिएका धिरज कुमार झाले लागूऔषध कारोबारको रकम विपुलकान्तको बैंक खातामा पठाएर त्यहीँबाट रकम लिने गरेको भन्ने बयानका आधारमा प्रहरीले अनुसन्धान गर्दा विवेकले विपुलकान्त मिश्राको बैंक खातामा रकम पठाएको पाइएको थियो ।
बुझिएका व्यक्ति विपुलकान्तको बयानमा भनिएको छ,
‘प्रतिवादी धिरज कुमार झा पक्राउ पर्नु भन्दा केही महिना अगाडीसम्म माछाको व्यापार गर्ने गरेको मैले देखेको थिएँ । निजले आफूसँग बैंक खाता नभएको र माछा कारोबारमा पैसा पठाउन र अरूबाट लिनको लागि बैंकको क्यु आर कोड चाहिएको छ, म कहिले काहीँ तिम्रो मोबाइल बैंकिङको प्रयोग गर्छु भनेकोले निज साथीको विश्वासमा परी मैले निजलाई मैले सञ्चालन गरेको मुक्तिनाथ विकास बैंक लिमिटेड रंगेली शाखाको खाता नम्बर नं. १४१२२३००८७०१६१०००००१ को क्यु आर कोड दिएपछि निजले आफ्नो मोबाइलमा खिचेर लगेको थियो । हामी साथी साथी भएकोले हाम्रो फोनमा कुराकानी तथा ह्वाट्सएपमा पनि सामान्य सन्चो बिसन्चोको कुराकानी हुने गर्थ्यो । सोही क्रममा ई.सं. १ डिसेम्बर २०२४ (बि.सं.२०८१।०८।१६) गते हाल नाम थाहा पाएको प्रतिवादी विवेक खुलालको खाताबाट मेरो खातामा नगद रु. ४,८००।– (चार हजार आठ सय) जम्मा भएपछि प्रतिवादी धिरज कुमार झा आई म बाट खातामा जम्मा रकम बापत नगदै लिई गएको थियो । पछि एक पटक मिति याद भएन प्रतिवादी धिरज कुमार झाले मलाई नगदै रु. १०,०००।– (दश हजार) दिई मेरो खातबाट ९८१५३११०९९ नम्बरमा रु. १०,०००।– (दश हजार) रकम पठाउन लगाएको थियो …..।’
यसरी धिरज कुमार झाले गरेको पोल बयान, विवेक खुलालले लागूऔषध कारोबारका सम्बन्धमा विपुलकान्त मिश्राको बैंक खातामा रकम पठाएको, धिरज पक्राउ परेको दिन समेत कुराकानी भएको पाइएको थियो ।

त्यसबाहेक विवेकले धिरजलाई ३१ पटक र धिरजले विवेकलाई ३५ पटक कुराकानी गरेको कल डिटेल एनालाइसिस समेत प्रहरीले अभियोग पत्रका साथमा पेस गरेको थियो ।
सुरुवातमा दुवै जना थुनामा, उच्चबाट विवेकले पाए धरौटी
प्राप्त तथ्य र प्रमाणका आधारमा सुरु मोरङ जिल्ला अदालतले दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीश पारसमणि पोखरेलको इजलासले २०८१ चैत ३ गते दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर आफू विरुद्ध लाग्ने अधिकांश प्रमाणहरू नष्ट गराएका र प्रहरीबाट समेत पूर्ण अनुसन्धान हुन नदिई आफू अनुकूल हुने गरी मुद्दा दायर गराउन सफल भएका विवेक जिल्लाको थुनछेक आदेशविरुद्ध उच्च अदालत विराटनगरमा निवेदन बोकेर गए ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय ममता खनाल र केशवप्रसाद बास्तोलाको इजलासमा भएको सुनुवाइमा इजलासले तत्काल प्राप्त प्रमाणबाट मोबाइल नम्बर आफूले नै चलाएको भनी स्वीकार गरेको, आफ्नै बैंक खाताबाट रकम ट्रान्सफर भएको पाइएको आदि कारणबाट अहिले नै कसुरदार होइनन् भनी भन्न नसकिने तर निजको साथबाट प्रमाणमा लाग्ने वस्तु बरामद नभएको तथा धिरज कुमार झाले अदालतमा बयान दिँदा विवेकलाई चिन्दिन भन्ने होस्टाइल बयान दिएको आदि कारणबाट पछि ठहरे बमोजिम हुने भन्दै २ लाख धरौटी माग गरी छाड्न आदेश दियो ।

अनुकूल न्यायाधीशको इजलासमा मात्रै सुनुवाइ !
प्रतिवादी सबै चुक्ता भएको र साक्षीहरूको समेत बयान भइसकेको कारण उक्त मुद्दाको अंग समेत चाँडै नै पुराइएको थियो । उक्त मुद्दामा २०८२ वैशाख १० गते पेसी तोकिएको थियो । उक्त पेसी न्यायाधीश मनिराम ज्ञवालीको इजलासमा पर्यो । तर उक्त दिन प्रतिवादीका कानुन व्यवसायीबाट स्थगित गराइयो ।
त्यसको एक सातामा पुनः पेसी तोकियो । २०८२ वैशाख १७ गतेको पेसी न्यायाधीश मेघनाथ चापागाईँको इजलासमा तोकियो । उक्त दिन पनि प्रतिवादीकै कानुन व्यवसायीबाट स्थगित गराइयो ।

त्यसपछिको अर्को पेसी २०८२ जेठ १४ गते तोकियो । उक्त दिनको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकियो । त्यस दिन भने कसैले पनि स्थगित गराएनन् । अनि उक्त दिन सुनुवाइ हुँदा भरिया रहेका धिरज कुमार झालाई दोषी ठहर गरियो भने विवेक खुलाललाई भने सफाइ दिइयो । जेठ २५ गते धिरजको हकमा सजाय निर्धारण हुँदा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइयो ।
फैसलाको पूर्ण पाठ दिनै आनाकानी !
गत जेठ २५ गते नै फैसला भइसकेको भए पनि उक्त मुद्दामा फैसलाको पूर्ण पाठ दिन भने आनाकानी गरियो । उक्त फैसलाका सम्बन्धमा सञ्चारमाध्यम र माथिल्लो निकायले समेत चासो राखेपछि असारको अन्तिममा भएको फैसलाको पूर्ण पाठ समेत दिइसकेको अवस्थामा न्यायाधीश केशवप्रसाद घिमिरेले विवेक खुलाललाई सफाइ दिइएको फैसलाको पूर्ण पाठ दिन भने आनाकानी गरिरहे ।
इजलास अधिकृतले फैसलाको पूर्ण पाठ फैसला भएको दुई सातामै दिएको भए पनि न्यायाधीश घिमिरेले उक्त फैसलाको पूर्ण पाठ दिन भने आनाकानी गरिरहे । र, अन्तमा बारम्बारको ताकेता पछि २०८२ साउन २८ गते प्रमाणीकरण भएको मिति राखेर भदौको १ गते मात्रै अपलोड गरियो ।
फैसलामा लुकाइयो कुराकानी र बैंकिङ कारोबारको विषय
लागू औषधका मुख्य कारोबारी विवेक खुलाललाई सफाइ दिने गरी भएको फैसलामा न्यायाधीश घिमिरेले विवेक खुलाल र धिरज कुमार झा बिच कुराकानी भएको, विवेकले विपुलकान्त मिश्राको बैंक खातामा रकम ट्रान्सफर गरेको विषय नै हटाइदिएका छन् । बरु पोल बयान मात्रैको आधारमा दोषी ठहर गर्न नसकिने र प्रतिवादीको साथबाट लागूऔषध बरामद नभएको भन्दै उनलाई सफाइ दिइएको छ ।
फैसलामा भनिएको छ,
‘प्रतिवादी विवेक खुलालको हकमा हेर्दा, निजको साथबाट कुनै पनि किसिमका लागू औषध बरामद भएको देखिएको छैन । निजले अनुसन्धानको क्रममा र यस अदालतमा बयान गर्दा आरोपित कसुर गरेकोमा इन्कार रही बयान गरेका देखिन्छ । यी प्रतिवदीले प्रयोग गरेका भन्ने दाबीमा उल्लेख भएको ९८१३८२९६९३ नम्बरको मोबाइल निज स्वयमको नाममा रहेको नभई अभिषेक बरालको नाममा रहेको र विवेक खुलालले प्रयोग गरी आएको भन्ने दाबी रहेकोमा उक्त मोबाइल एक वर्ष अगाडि हराएको हुँदा सो मोबाइलको प्रयोग गरी आफूले लागू औषधको कारोबार गरेको छैन भन्ने निजको भनाई रहेको देखिन्छ । सह अभियुक्त धिरज कुमार झाले मौकामा बयान गर्दा आफूले प्रयोग गरेको ९७६९७०९९५२ नम्बरको मोबाइलमा ९८२३१०८४८१ नम्बरको मोबाइलबाट फोन गरी लागू औषध माग भएको भन्ने समेतको ब्यहोरा उल्लेख भएकोमा उक्त ९८२३१०८४८१ नम्बरको मोबाइल यी प्रतिवादी विवेक खुलालले प्रयोग गरेका भन्ने तथ्य प्रमाणित हुन सकेको देखिँदैन । ९८१३८२९६९३ नम्बरको मोबाइलबाट क्यु आर प्रयोग गरी ध्रुवकुमार मण्डल समेतको खातामा रकम ट्रान्सफर भएको सम्बन्धमा यी प्रतिवादीले उक्त नम्बरको मोबाइल प्रयोग गरिरहेको तथ्य स्थापित हुन नसकेको र निजको साथबाट उक्त नम्बरको सिम कार्ड बरामद हुन सकेको समेत देखिएन । ध्रुव कुमार मण्डल समेतले गरेको घटना विवरणको कागज र यस अदालतको बकपत्र समेतमा प्रतिवादी विवेक खुलालले लागू औषध कारोबार गरे बापतको रकम निजहरूको खातामा जम्मा भएको हो भनी यकिन गर्न सकेको देखिएन । स्वयम सह अभियुक्त धिरज कुमार झाले यस अदालतमा बयान गर्दा यी प्रतिवादी विवेक खुलालसँग चिनजान, कारोबार नरहेको भनी बयान गरेको देखिँदा सह अभियुक्तले मौकामा गरेको बयानमा पोल गरेका यी प्रतिवादीको हकमा यस अदालतमा बयान गर्दा सो बमोजिम पोल गर्न सकेको देखिएन । सह अभियुक्तको पोल अन्य स्वतन्त्र र विश्वासलायक प्रमाणबाट समर्थित हुन नसकेमा त्यस्तो पोलको प्रमाणिक महत्त्व शून्य हुने हुँदा प्रतिवादी विवेक खुलालका उपरको अभियोग दाबी स्वतन्त्र, विश्वासलायक र शंकारहित प्रमाणबाट प्रमाणित हुन नसक्दा निजका हकमा सम्म अभियोग दाबी पुग्न नसकी प्रतिवादी विवेक खुलालले सफाइ पाउने ठहर्छ ।’
यसरी इजलासले यो फैसलामा मुख्यतः तीन वटा कुराको नजरअन्दाज गरेको देखिन्छ ।
पहिलो, विवेकले ९८१३८२९६९३ नम्बरको प्रयोग गरेको कुरा उच्च अदालतले स्वीकार गरेको तर जिल्ला अदालतले नगरेको ।
दोस्रो, एक वर्ष अगाडि हराएको भने तापनि धिरज पक्राउ परेको दिनमा समेत कुराकानी भएको कल डिटेल्सबाट देखिएको र सिडिआर रिपोर्टमा कुल ६६ पटक कुराकानी भएको रिपोर्टलाई अन्देखा गरिएको ।
र तेस्रो, विवेकले प्रयोग गरिरहेको ९८१३८२९६९३ नम्बरकै मोबाइलबाट निजकै खाताबाट ध्रुव कुमार मण्डल र विपुलकान्त मिश्राको बैंक खातामा रकम ट्रान्सफर गरिएको र त्यसको चेन अफ कस्टडीले उक्त रकम लागू औषधसँग सम्बन्धित हो भन्ने देखिए पनि पुष्टि नभएको भन्दै छाडिएको ।
प्रहरी अनुसन्धानमा कमजोरी
विवेक खुलाल मुख्य प्रतिवादी रहेको यो मुद्दामा प्रहरी अनुसन्धान पनि फितलो देखिन्छ । प्रहरीले धिरजको तर्फबाट भएको कुराकानीको कल डिटेल राखे पनि विवेकको तर्फबाट भएको कुराकानीको कल डिटेल्समा मिसिलमा संलग्न गरेको छैन ।
त्यसबाहेक उक्त नम्बर विवेकले कहिलेसम्म चलाएका थिए भनेर मोबाइल सेवा प्रदायकबाट विवरण मगाउन सकिनेमा त्यो गरेको देखिएको छैन जहाँ विवेकले धिरजबाहेक अन्य आफन्त वा साथीभाइसँग समेत कुराकानी गरेको हुनसक्ने सम्भावना थियो र अन्यबाट त्यो कुराको पुष्टि सम्भव थियो ।
त्यसबाहेक विवेकले बैंकमा कुन नम्बर प्रयोग गरेका थिए, त्यो पनि हेर्न सकिन्थ्यो । तर प्रहरीले समेत आफ्नो अनुसन्धानमा विवेकलाई सफाइ दिने मनसाय राखी कमजोर अनुसन्धान गरेको थियो, जसका कारण मोरङ जिल्ला अदालतले लागूऔषध ब्राउन सुगरका मुख्य आरोपी विवेक खुलाललाई सफाइ दिई भरिया धिरज कुमार झालाई समेत जेल पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया