काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा मन्त्रालयमार्फत भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
बुधबार रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री राईले २०८१ असार ३१ गतेबाट आफूले सम्हालेको जिम्मेवारीपछि भएका उपलब्धिहरु प्रस्तुत गरे ।
मन्त्री राईले नेपाली सेनामार्फत भइरहेका विकास निर्माणका आयोजनाहरुमा उल्लेख्य प्रगति भएको दाबी गरे। उनका अनुसार मुलुकका ७७ वटै जिल्ला सदरमुकाममा सडक यातायातको पहुँच पुगेको छ ।
साथै, मन्त्रालयले विपद् व्यवस्थापन, राहत र उद्धार कार्यमा पनि सक्रिय भूमिका खेलेको उल्लेख गरे । छिमेकी मुलुकहरुमा शान्ति स्थापनाको सवालमा नेपाली सेना प्रभावशाली शक्ति बन्न पुगेको दाबी पनि उनले गरे ।
कार्यक्रममा रक्षा मन्त्रालयका सह–सचिव मनोजकुमार आचार्यले आर्थिक वर्ष २०८१र८२ मा संशोधित बजेट १५ अर्ब ३० करोड रुपैयाँ रहेकोमा हालसम्म १३ अर्ब ४६ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए ।
उनका अनुसार रक्षा मन्त्रालयमार्फत सञ्चालित आयोजनाहरुको कुल लागत २ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ। भौतिक प्रगति ४१।३७ प्रतिशत र वित्तीय प्रगति ४२.७४ प्रतिशत रहेको छ ।
आचार्यले ७ वटा सुरुङ मार्गमध्ये मकवानपुरस्थित एक सुरुङमा ब्रेकथ्रू भइसकेको र अन्य सुरुङहरू निर्माण प्रक्रियामा रहेको बताए । त्यस्तै, ८९ वटा निर्माणाधीन पुलमध्ये ५० वटाका लागि खरिद सम्झौता सम्पन्न भएको र हालसम्म ५ वटा पुल निर्माण सम्पन्न भइसकेको जानकारी पनि दिए ।
मन्त्री राईले विकास निर्माणसँगै सुरक्षा निकायको सेवा सुविधा थप गर्ने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । उक्त कार्यक्रममा मन्त्रालयका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया