अन्तर्राष्ट्रिय द्वन्द्वले कृषि महँगो, ‘डोमेस्टिक प्रमोसन र नेशनल प्रोटेशन’मा ध्यान दिन सचिव शर्माको सुझाव

लोकपथ
91
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी वर्ष कृषिजन्य वस्तुको मूल्यमा वृद्धि हुने स्पष्ट संकेत दिएका छन् ।

बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय द्वन्द्वका कारण आयात निर्भर कृषि वस्तुहरूको मूल्य बढ्ने सम्भावना रहेको बताए ।

यस्तो अवस्थामा नेपालको आन्तरिक कृषि प्रवर्द्धन र संरक्षणलाई प्राथमिकता दिन जरुरी रहेको उनको भनाइ थियो ।

‘अब हाम्रो कृषिलाई सोच्ने बेला भइसक्यो,’ उनले भने, ‘बीउ, मल, भण्डारणमा अनुदान दिँदै आन्तरिक बजार बनाउँदै आएका छौं, तर अझै यो प्रणाली व्यवस्थित हुन सकेको छैन । अब उत्पादनलाई बजारसम्म पुर्‍याउने र राष्ट्रिय संरक्षण नीति अवलम्बन गर्नुपर्ने समय आएको छ ।’

उनका अनुसार ‘डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशन’ नीतिको खाँचो छ । यस्तो नीतिबाट आयात प्रतिस्थापन, आन्तरिक उत्पादनमा प्रोत्साहन र दीर्घकालीन कृषि सुरक्षा सम्भव हुने विश्वास व्यक्त गरे ।

यही बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सिंचाई अभाव सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

उनले हाल २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि प्रयोजनमा प्रयोग भइरहेकामा १२ लाख ९ हजार हेक्टरमा मात्र सिंचाई सुविधा रहेको जानकारी दिए ।

‘१० लाख हेक्टरमा अहिले पनि सिंचाई छैन, ‘सांसद भुसालले भने, ‘सिंचाई भए किसानले मल नपाए पनि खेती गर्न तयार हुन्छन्। उत्पादन कम भए पनि खेती बाँझो राख्दैनन् ।’

उनले सिंचाई पूर्वाधार विस्तार गर्नुपर्नेमा जोड दिंदै कृषिको समग्र सुधारका लागि जल व्यवस्थापन र पूर्वाधार निर्माणलाई प्राथमिकता दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?