एसीसी यू-१६ इस्ट जोन क्रिकेट : नेपालको दोस्रो जित, जापानलाई ९ विकेटले हरायो

लोकपथ
3.4k
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार क्वालालम्पुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।

८१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४.२ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्‍यो । नेपालका शिवांश बजगाईंले ७ चौकासहित अविजित ३८ रन बनाए भने प्रसिद्ध जैसी ३ चौकासहित अविजित ३३ रनमा रहे ।

इन्जुरीका कारण जोए थापा तेस्रो ओभरमै १ रनमा आउट भएका थिए । त्यसपछि शिवांश र प्रसिद्धले दोस्रो विकेटका लागि ७६ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा मात्र ८० रनमै समेटिएको थियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । गाबी हाराहिन्जले १३ रन जोड्न सके । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बाँयाहाते स्पिनर शुभम खनालले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । अभय यादवले २ विकेट तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट हात पारे ।

नेपालले यसअघि पहिलो खेलमा पनि शानदार जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?