काठमाडौं । पछिल्लो पुस्ताका चर्चित कमेडियन दिनेश काफ्ले राजनीतिक तथा सामाजिक व्यक्तिहरुको मिमिक्री गरेर चर्चामा छन् । हाल ‘हाउडे दाइ’का रपमा चिनिएका उनलाई यो उपनाम मुन्द्रेको कमेडी क्लबले दिलाएको हो ।
५ असारमा साँस्कतिक संस्थानको ५३ औं वार्षिकोत्सवका अवसरमा उनै काफ्ले एकाएक स्वर सम्राट ‘नारायण गोपाल’ को स्वरुपमा प्रस्तुत भए । शिरमा भादगाउँले टोपी, आँखामा कालो घेराको चश्मा, खरानी रङको कोट, हातमा हार्मोनियम र पृष्ठभूमीमा ‘फर्किए स्वरसम्राट’ । यो गेटअपमा प्रस्तुत भएका काफ्लेलाई हेर्दा धेरैलाई नारायण गोपालको झल्को दियो ।
त्यसमाथि काफ्लेले गरेको नारायण गोपालको अभिनयले दर्शकदीर्घाबाट वाहवाही पाइरहेको थियो । सो प्रस्तुतिमा काफ्लेलाई हाँस्यकलाकार खबपु चञ्चल मगरले साथ दिएका थिए ।
सामाजिक सञ्जालमा उनीहरुको प्रस्तुतिले यतिबेला तारिफ पाइरहेको छ । नारायण गोपालमाथि गरिएको मिमिक्री सम्भवतः यो पहिलो हो । परलोक भइसकेका व्यक्तिको मिमिक्री गर्नु आफैंमा संवदनशील कार्य हो । ‘मेरो जन्महुनुभन्दा पहिला उहाँको निधन भइसकेको थियो,’ काफ्ले भन्छन्, ‘आफूले प्रत्यक्ष नभेटेको मानिसको मिमिक्री गर्नु आफैंमा चुनौति थियो तर पनि उहाँको सम्मानका खातिर मैले गर्नैपर्छ भन्ने लाग्यो र गरेँ ।’
स्वर सम्राटको मिमिक्रीको तयारीमा निकै कठिन भएको काफ्लेको अनुभव छ । ‘गीतमा उहाँको स्वर प्रशस्त सुनियो तर सामान्य कुराकानीका अडियो भिडियोहरु आर्काइभमा कमै पाइयो,’ काफ्ले मिमिक्री तयारीको पृष्ठभूमी सुनाउँदै थिए, ‘तैपनि उहाँको भावलाई न्याय गर्ने प्रयास गरेको छु ।’
नारायण गोपालका कालजयी गीतहरु आजको पुस्तामा पनि उत्तिकै चर्चित छन् । हासो, रोदन, माया, बिछोड, सफलता, असफलताका बिचमा उनका गीत जनजिब्रोमा हुन्छन् । उसो त आजको पुस्ताका मगजमा पनि पनि नारायण गोपाल अमिट छाप बनेर बसिरहेका छन् । उनै माथि गरिएको मिमिक्री हेर्न दर्शकदिर्घामा उनका सहकर्मी र दौंतरीहरु पनि उपस्थित थिए । झण्डै १८ मिनेट स्टेजमा रहेका काफ्लेले दर्शकदिर्घाबाट वाहवाही पाइरहे । काफ्लेले नारायण गोपालको शैलीमा पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा देखिएको विकृति विसंगती माथि कडा व्यंग्य गरेका थिए ।
नारायण गोपाल साँस्कृतिक संस्थाका दोस्रो महाप्रबन्धक भएका थिए । संस्थानमा कलाकार हुँदै उनी वि.सं. २०३६ सालमा महाप्रबन्धक भएका थिए । उनले महाप्रबन्धक हुँदा संस्थानलाई दिएको योगदान र संस्थानको अहिलेको अवस्थामा माथि पनि खबपू र काफ्लेले व्यङ्ग्य गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया