काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुर्व्यसनीको चपेटामा परेका युवाहरूलाई दुर्व्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरूलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु संस्थाले अंगीकार गरेको महान् उद्देश्य र लक्ष्यअनुरुपकै कदम भएको जिकिर गरे ।
सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताए ।
देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि भएको बताए ।
पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुर्व्यसन विरुद्धको अभियानमा पनि स्काउट सक्रिय हुनु अर्को सकारात्मक पक्ष भएको उनको भनाइ छ ।
महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशीलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरूलाई पनि आफ्नो प्राथमिकतामा राखी अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको बताए ।
उपराष्ट्रपति यादवले युवा युवतीलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा थप सक्रिय बनाउनु स्काउटको महत्त्वपूर्ण लक्ष्य हुनुपर्ने बताए ।
युवा स्वयंसेवक परिचालन अन्तर्गत २०८१-०८२ मा ५० हजार भन्दा बढी युवा स्काउट स्वयंसेवकका रूपमा परिचालित भएको खुसीको कुरा भएको बताए ।
नेपाल स्काउटले प्राकृतिक विपद् व्यवस्थापन, लागुपदार्थ दुर्व्यसन निवारण, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना र महिला उद्यमशीलता प्रवर्द्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया