राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्‍यो : प्रचण्ड

लोकपथ
287
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको बागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।  

उनले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरूको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गरे ।

उनले पार्टीमा आबद्ध विभिन्न जातीय तथा क्षेत्रीय संगठनहरुलाई शक्ति सञ्चय गर्न आग्रह गरे । अध्यक्ष प्रचण्डले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरूलाई संसद, सडक तथा जनताको माझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको बताए ।  

प्रतिगमणकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरूकै भएको बताए । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोषा जगाएको उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको अभियानहरू, सम्मलेलनहरु अधिवेशनतिर जाने प्रक्रियाहरू विभिन्न जातीय क्षेत्रीय मोर्चाका अधिवेशनहरू जनसंगठनहरु सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी पर्‍यो भने ठूलो आन्दोलनमा देशलाई फेरि एक पटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धिहरूलाई खोस्ने दुःशाहस गर्दैछन्, प्रपञ्च गर्दै छन् । त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ । अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ,  जनताको बिचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौंमा जसरी राजावादीहरूको वितण्डा देखापर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनैपर्छ भनेर अभियान रोकेर काठमाडौं आएर हामी सबैको सहभागितामा हामीले ठूलै धक्का दियौँ  राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठूलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त गर्‍यौँ अहिलेलाई । यो फेरि पनि वितण्ड गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशीलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि विभिन्न जन वर्गीय संगठनहरुसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताए । उनले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गरे । उनले  पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गरे । 

उनले भने, ‘हामीले हाम्रो समीक्षामा के कुरा गर्‍यौँ भने हाम्रो विचारलाई हाम्रो राजनीतिक एजेन्डालाई हाम्रो वर्ग र समुदायलाई जति दरोसँग हामी शान्ति प्रक्रियामा आएपछि पनि उनीहरूसँग सम्बन्ध बनाइ राख्नुपर्ने थियो, उनीहरूलाई गतिशील गरिराख्नुपर्ने थियो । उनीहरूको भूमिकालाई सबैतिर स्थापित गरिराख्नुपर्ने थियो  त्यहाँ हाम्रो कमी भयो । र यो कमीको परिणाम माओवादी पार्टी र आन्दोलनका एजेण्डाहरु कमजोर पर्न गए, यो महशुस हामीले गर्‍यौँ । मैले पछिल्लो पटक सरकारको नेतृत्व गर्नु अगाडि नै यी विषयमा विचारमा पनि कहीँ न कहीँ कमजोर भएको महशुस गरियो । राजनीतिक एजेण्डामा पनि वर्ग समुदायमा पनि समीक्षा नगरिकन र यथास्थितिलाई तोडेर नयाँ ढंगले जनसम्पर्क नगर्ने हो भने हाम्रा हजारौँ शहीद, अपाङ्ग घाइतेहरूलगायतको योगदानले प्राप्त गरेको समावेशी समानुपातिकसहितको गणतन्त्र संघीयता पनि धरापमा  पर्न सक्छ भन्ने महसुस लिडरसिपको हैसियतले मलाई दुई ढाइ  वर्ष अघि नै गहिरो गरी भएको थियो । त्यस कारण एउटा संकल्प हामीले गर्‍यौ तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त छ, हामीले केही जनतामा आशा जगाउने रेकर्ड बनाउनैपर्छ भनेर  भ्रष्टाचारका विरुद्धको अभियान सचेतरुपले छेडेकै हो । सुशासनको पक्षमा रेकर्ड बनाउने गरी काम गरिएको हो । सामाजिक विभेदको एउटा युद्ध फेरि नयाँ आन्दोलन गर्नुपर्छ छेड्नु पर्छ भनेर नै सामाजिक न्यायको कुरा उठाइएको हो ।’

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने र समाजवादी क्रान्तिको आधार तयार पार्ने बताए । पार्टीलाई बलियो बनाउन आफू रातदिन विभिन्न अभियानमार्फत जनतासँग जुटेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?