काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टीबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो टिप्पणी गरेको हुन् ।
उनले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाएका हुन् । उनले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई संकटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको आरोप लगाए ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमले धरमराइरहेको आशालाई जीवित गर्नुको सट्टा चिसो पानीमा खनाएको जस्तै भएको टिप्पणी गरे ।
उनले भने, ‘गत वर्षको नीति तथा कार्यक्रम पढ्यौँ भने त्यसको ८० प्रतिशत कपी पेस्ट देखिन्छ । मान्छेले के अपेक्षा गरेका थिए भने देशलाई संकटबाट निवारण गर्छ । जनतालाई उत्साहित बनाउँछ । फेरि एक चोटि धरमराइरहेको आशालाई जीवित गर्छ भनेको त यसलाई चिसो पानीमा खनाएको जस्तै भयो । साँच्चिकै भन्ने हो भने नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टीबीको औषधि जस्तै भयो ।’ उनले यो नीति तथा कार्यक्रमले नेपाली जनतालाई उत्साहित गर्न नसक्ने समेत जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया