काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौती दिन खोजेको बताएका छन् । १ सय ३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने बताए । उनले अराजक समूहहरूको चुनौतीलाई स्वीकार गरेर आफूहरूले जवाफ दिने समेत जिकिर गरे । उनले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनीहरूले गरेको अपराधमाथि प्रश्न नउठाएको र छानबिन अझै नगरेको बताए ।
उनले राजावादीहरूमा असहिष्णुता धेरै रहेको बताउँदै शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी लिएर किच्न गएको भन्दै आक्रोश व्यक्त गरे । उनले केही नहुँदा यस्तो अराजक मच्चाउनेहरूले कदम कदाचित शासन चलाए के हुँदो हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘यिनले गरेका अपराधहरूमा हामीले अझै छानबिन गरेका छैनौँ, अझै प्रश्न उठाएका छैनौँ । यिनीहरूमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी त्यसमाथि गाडी लिएर किच्न जान्छन् । केही नहुँदा त त्यस्तो छ, यस्ता मान्छेहरू कदम कदाचित यिनको शासन हुने हो भने के हुँदो हो ? विचार गर्नुस् त । यस्ता कुरामा हामी सतर्क हुनुपर्छ । हाम्रो संस्कृति बिगार्न खोजका छन् । सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न खोजेका छन् । समाज भत्काउन, बिगार्न र समाजलाई विकृत बनाउन खोजेका छन् । हाम्रो सभ्यता माथि चुनौती दिन खोजेका छन् । हामीले यी चुनौतीलाई स्वीकार गरेर त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । हामी जवाफ दिन्छौँ ।’
उनले राजावादीहरूले राम्रो सहन नसक्ने र विरोध गरिहाल्ने बताउँदै यस्ता विषयमा सचेत हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया