रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाका सुझाव

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन् । 

बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमै रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गरे । यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानुनहरू आफू प्रधानमन्त्री भएकै बेलामा आएको उनको भनाइ छ  । 

सामाजिक सुरक्षाले श्रमिकहरूको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्ने दाबी गरे । स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक रहेको बताए । 

सभापति देउवाले भने, ‘नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानुनहरू नेपाली कांग्रेसको सरकार रहेकै बेलामा आएका हुन् । म प्रधानमन्त्री भएको समयमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको पनि हो । सामाजिक सुरक्षाले श्रमिकहरूको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्दछ । स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमै रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा गर्नुछ । त्यसैले पनि श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’

सभापति देउवाले लोकतन्त्रमा सबै श्रमिकको अधिकार सुरक्षित हुने बताए । नेपाली कांग्रेस श्रमिक अधिकार दिने पक्षमा सदैव अग्रस्थानमा रहेको जिकिर गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?