सहकारी ठगीमा परेकी कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अदालतले ३ दिनको म्याद दिएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई शनिबार राति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप उनीमाथि लागेको छ । उनी आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।

आर्थिक वर्ष ०७३/७४ मा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, गीतेन्द्रबाबु राई सचिव, सविना आलेमगर कोषाध्यक्ष तथा यामकुमार नाल्बो, राजु बरालसँगै सांसद राई पनि सञ्चालक समिति सदस्य थिइन् । त्यस्तै, ०७४/७५ देखि ०७५/७६ मा उनी सहसचिव हुँदा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, दीपक लामा सचिव, रबिना आलेमगर कोषाध्यक्ष तथा भक्तबहादुर भोलन र प्रदीप लामा सदस्य थिए ।

प्रहरीले उनलाई पक्राउ गर्न गत मंसिरमै अदालतबाट अनुमति लिएको थियो । तर, अभियोजनको समयमा कांग्रेस सांसद भएको खुलेपछि स्थायी ठेगाना नखुलेको भनेर अभियोजनबाट जोगाइएको थियो । गत २१ पुसमा प्रहरीले सो सहकारी हिनामिनामा पहिलो चरणको अनुसन्धान सकेर ३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

त्यतिबेलादेखि नै गैरकानुनी रूपमा कर्जा प्रवाह हुँदा सहकारी धराशायी भएको अनुसन्धानमा देखिए पनि अन्य सञ्चालकलाई मुद्दा चलाउँदा उनलाई अनुसन्धानबाहिरै राखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । तर, पछि अभियोगबाट उनको नाम हटेपछि गृह मन्त्रालयकै दबाबमा उनलाई उन्मुक्ति दिइएको आरोप लाग्दै आएको थियो ।

भोजपुर स्थायी घर भएकी राई ‘फरार’ भएपनि उनले तलबभत्ता भने बुझ्दै आएकी थिइन् । फरार रहेकी उनले शुक्रबार संसद् पुगेर गोप्य रूपमा हाजिर गरेको विवरण पनि बाहिरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?