काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका आधिकारिक वार्ता टोलीसँग वार्ता गर्ने जनाएका छन् ।
शुक्रबारका लागि बोलाइएको वार्ता विफल भएपछि मन्त्री पन्तले सञ्चारकर्मीसँग कुरा गर्दै आधिकारिक वार्ता टोलीसँग वार्ता गर्ने बताएका हुन् ।
‘नेपाल राष्ट्रिय शिक्षक महासंघले आधिकारिक वार्ता टोली बनाओस्, हामी नेपाल राष्ट्रिय शिक्षक महासंघको टोलीसँग वार्ता गर्न, समस्याको समाधान खोज्न तयार छौँ,’ उनले भने ।
त्यस्तै आफूले शिक्षकहरुसँग सम्बन्धित सबै समितिसँग छलफल गरेर उनीहरुको कुरा सुन्न चाहेको तर अन्तिम अवस्थामा वार्ता हुन नसकेको बताए ।
‘मेरो कुरा चाँही शिक्षकसँग सम्बन्धित सबै संगठनको कुरा सुनौँ, समस्याको समाधान खोजौँ भन्ने थियो, यदी ठिकै छ नेपाल राष्ट्रिय शिक्षक महासंघले आधिकारिक वार्ता टोली पठाओस् सरकार उनीहरुसँग वार्ता गर्न तयार छ,’ उनले भने ।
किन भाँडियो सरकारसँग शिक्षकको वार्ता ?
बिहीबार मात्रै शपथग्रहण गरी कार्यभार सम्हालेका शिक्षामन्त्री पन्तले आजै शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका थिए ।
मन्त्री र सचिवले पत्र नै पठाएर महासंघलाई वार्तामा आउन आह्वान गरे । वार्ताका लागि शिक्षकहरु सिंहदरबार पुगेपछि पहिले नै २५ सदस्यीय कमिटी गठन भएको खबर आएको थियो । त्यसपछि शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नै नगरी बाहिरैबाट फर्किएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुलाई जानकारी नै नदिइ वार्ता टोली गठन गरेको थाहा पाएपछि आफूहरु मन्त्रालय नै प्रवेश नगरी फर्किएको बताउँछन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’
शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षकहरुले गत चैत २० गतेबाट आन्दोलन गरिरहेका छन् । यसबिचमा समेत पटकपटक वार्ता हुँदा समेत शिक्षकहरुले आश्वस्त हुने कुनै आधार नदेखेपछि वार्ता भाँडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया