काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगामस्थित बैसारन भन्ने ठाउँमा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणको नेपालले निन्दा गरेको छ । सो आक्रमणमा एक नेपालीसहित कम्तीमा २७ जना मारिएको मिडिया रिपोर्ट सार्वजनिक भएका छन् ।
भारतीय सञ्चार माध्यम दैनिक भाष्करले पर्यटकहरूलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरूको विवरणमा सन्दीप न्यौपाने र उनको देश नेपाल उल्लेख छ ।
त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको देश खुलाइएको छैन । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
नेपालको सरकारी निकायबाट भने यसबारे कुनै विवरण सार्वजनिक भएको छैन ।
घटनामा घाइते भएका कम्तीमा १२ जना अस्पतालमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य रहेको स्थानीय चिकित्सकले बताएका छन् । ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।
सो आतंकवादी आक्रमणलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत निन्दा गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु’ भनेका छन् । उनले भनेका छन्, ‘निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता हिंसात्मक कार्यहरू अत्यन्तै निन्दनीय छन् र कडाभन्दा कडा शब्दमा भर्त्सना गर्नुपर्छ ।’
राष्ट्रपति पौडेलले आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो आतंकवादी आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’
प्रधानमन्त्री ओलीले सो घटनामा एक नेपाली नागरिक पनि मारिएको समाचार पुष्टि गर्ने प्रयास भइरहेको जानकारी दिँदै भनेका छन्, ‘पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिने छ ।
परराष्ट्र मन्त्रालयले पनि भारतमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ । मन्त्रालयले भनेको छ, ‘नेपालले जम्मु तथा कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको बर्बर आतंकवादी हमलाको घोर भर्त्सना गर्दछ, शोकाकुल परिवारहरूप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौँ ।’
आतंकवादप्रति नेपालको अडान स्पष्ट रहेको उल्लेख गर्दै भनिएको छ, ‘नेपाल सबै प्रकारका आतंककारी कार्यहरूको कडा शब्दमा भर्त्सना गर्दछ र यस्ता जघन्य कृत्यहरू कुनै पनि आधारमा जायज हुन सक्दैनन् भन्ने दृढ विश्वास राख्दछ ।’
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरूलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।
भारतीय मिडियाहरूका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया