‘राजावादीहरूको घुसपैठ हुनसक्ने’ भन्दै शिक्षकहरूको आजको आन्दोलन सकियो, राप्रपा कार्यकर्ता भेला हुँदै

लोकपथ
301
Shares

काठमाडौं । ‘राजावादीहरूको घुसपैठ हुनसक्ने’ भन्दै शिक्षकहरूको आजको पूर्वनिर्धारित आन्दोलन तोकिएको समयभन्दा चाँडो सकिएको छ । आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै शिक्षकहरूलाई आफ्नो युनिफर्म र आईडी कार्ड अनिवार्य लगाएर आउन भनिएको थियो । 

हरेक दिन ११ बजेदेखि दिउँसो बजेसम्म हुँदै आएको बानेश्वर–माइतीघर लक्षित कार्यक्रम आज राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनका कारण बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि तय भएको थियो । तर ‘राजावादीहरूको घुसपैठ हुनसक्ने’ भन्दै बिहान साढे ११ बजेकै हाराहारीमा आन्दोलनका कार्यक्रम सकेर शिक्षकहरू फर्केका छन् । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आजको विरोध प्रदर्शनको कार्यक्रम सकिएको बताए ।  

राप्रपाले दिउँसो १ बजेदेखि बिजुलीबजार पुलमा प्रदर्शन गर्न लागेको छ । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । राप्रपाले आज काठमाडौंमा गर्ने भनिएको प्रदर्शनलाई लक्षित गर्दै व्यापक सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । 

आयोजकबाट निषेधित क्षेत्र तोड्नेसम्मको चेतावनी आइरहेका बेला सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निषेधित क्षेत्र तोडेको अवस्थामा बल प्रयोग गर्नेसम्मको तयारी छ ।

माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद् भवन नयाँबानेश्वरमा विगतको भन्दा सुरक्षाकर्मीहरूको टोली बढी परिचालन गरिएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङका अनुसार, राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीहरूलाई विभिन्न ठाउँमा परिचालन गरिसकिएको छ । निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्ने उनको भनाइ छ । 

‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ, त्यसका लागि आवश्यक सुरक्षाकर्मी ठाउँ–ठाउँमा परिचालन गरेका छौँ,’ एआईजी तामाङले भने, ‘कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न दिँदैनौँ । यदि तोड्न खोजे बल प्रयोग गर्नुपर्ने अवस्था पनि हुनसक्छ ।’

उता, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेकाले प्रदर्शनबाट नडराउन सरकारलाई भनेका छन् ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रकोविरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ ।’

यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?