सडक निर्माण नभएपछि दाङमा केरा रोपेर आन्दोलन

लोकपथ
490
Shares

काठमाडौं । दाङको तुलसीपुरमा बुधबार एक हुल मानिसहरू सडकमा निस्किए । अनि फटाफट सडकमै केरा रोप्न थाले । बजारबासीहरू अचम्म मानेर हेर्न थाले ।

सडक निर्माण थालेको तीन वर्षसम्म पनि कुनै प्रगति नभएपछि तुलसीपुर उपमहानगरपालिका–५, पिपलबोट र रानीजरुवाका बासिन्दाले रचनात्मक आन्दोलन गरेका हुन् ।

सडक प्रयोग गर्न लायक नभएकाले केरा रोपेर सांकेतिक विरोध गरेको संघर्ष समितिका संयोजक जिवी मगर (जिएम)ले बताए ।

साथै नेताहरूले देख्न सकिने विकास नगरेका कारण कालो पट्टी बाँधेर हिँड्नुका साथै एक घण्टा चक्काजाम गरेको उनले बताए ।

पिपलबोट–रानीजरूवा ८ सय मिटर सडक लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि निर्माण सुरु गरे पनि त्यसपछि निरन्तरता पाउन सकेको छैन । राजनीतिक दलका नेताहरू एकले अर्कोलाई दोषारोपण गर्दै पन्छिन थालेपछि आन्दोलन गर्न बाध्य भएको जिएमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?