काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा (होली) पर्व आज पहाडी तथा हिमाली जिल्लामा उल्लासपूर्वक मनाइँदैछ । परम्परागत रूपमा रङ, लोला र आपसी मेलमिलापको प्रतीकका रूपमा मनाइने यस पर्वले सामाजिक सद्भावको सन्देश फैलाउने विश्वास गरिएको छ ।
फागु पूर्णिमाको मुख्य आकर्षण काठमाडौंको वसन्तपुरमा देखिने गर्छ । यहाँ बिहानैदेखि होली खेल्न हजारौँ मानिस जम्मा हुने छन् । रङ, अबिर र पानीको लोला एकआपसमा छ्यापाछ्याप गर्दै उनीहरूले पर्वलाई उत्साहजनक बनाउने गर्छन् । परम्परा अनुसार आजै विधिपूर्वक चीर दहन गरिँदैछ। वसन्तपुरमा विधिपूर्वक ढालिएको चीरलाई बाजागाजासहित टुँडिखेल लगी जलाइन्छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि गाडिएको चीरलाई विशेष पूजा गरेपछि फागु पर्वको सुरुवात भएको थियो । आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
पौराणिक कथा र धार्मिक महत्व
फागु पर्वलाई धार्मिक तथा पौराणिक कथासँग जोडिएको मानिन्छ। त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्न आगोले नछुने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रयोग गरेका थिए । तर, होलिका नै जलेर नष्ट भएकी थिइन् भने प्रह्लादलाई केही भएको थिएन। यस घटनालाई अन्याय माथि न्यायको विजयका रूपमा लिँदै होली मनाउने परम्परा बसेको मानिन्छ।
त्यस्तै, द्वापर युगमा बालकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसी पुतनाको वध भएको उपलक्ष्यमा पनि होली खेल्ने चलन बसेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
आयुर्वेदिक महत्व
होली केवल मनोरञ्जनात्मक पर्व मात्र नभई स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। शुद्ध रङ तथा अबिरको प्रयोगले छालाका विभिन्न रोगहरू निवारण गर्ने विश्वास छ। साथै, चीरको धुवाँले वातावरणमा रहेका रोगका कीटाणुहरू नष्ट हुने मान्यता रहेको छ।
सरकारले परम्परागत रूपमा यो अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने फागु पूर्णिमा भोलि अर्थात् पूर्णिमाको भोलिपल्ट उल्लासपूर्वक गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया