काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरूप काम गरिरहेको बताए ।
उनले आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रसारण लाइन निर्माणको अनुमति पत्र दिइएको बताए ।
उनले १४ वटा सौर्य विद्युत् सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत् निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गरे ।
उनले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताए । उनले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत् आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरे ।
उनले भारतसँग जोडिएका अन्तरदेशीय प्रसारण लाइन मर्मतको काम सुरु भइसकेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया