काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीप्रति असन्तुष्टी जनाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मंगलबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले आफू नेतृत्वको सरकारले सुरु गरेको राम्रा कामहरु समेत वर्तमान सरकारले रोकेको आरोप लगाए ।
नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी जग्गा, बालमन्दिर जग्गा प्रकरण लगायतका काण्डहरुको हिसाव संसद्बाट खोजे ।
त्यस्तै उनले आफ्नो दल माओवादी केन्द्रले यसअघि एमाले र कांग्रेसलाई धोका दिएको भन्ने विषयमा चिरफार गरे । उनले आफ्नो दल माओवादीले मात्र नभएर कांग्रेस र एमालेले पनि माओवादीलाई प्रयोग गरेर पटकपटक धोका दिएको भन्दै हिसाव गर्न चुनौती दिए । साथै आगामी दिनमा सरकारको गति हेरेर आन्दोलन गर्नेसम्मका चेतावनी संसद्बाट प्रचण्डले दिए ।
लामो अभिव्यक्ति दिएका उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति ठुलो कटाक्ष गरे । कांग्रेससँग एकाएक सत्ता समीकरणको सहमति गरेर आफू नेतृत्वको सरकार ढालेको आकोश प्रचण्डमा देखिन्थ्यो । उनले आफूले पटकपटक प्रधानमन्त्री बनाएको गुन बिर्सिएको भन्दै भोलिका दिनमा हुने राजनीतिक विषयमा समेत आफ्नो साथ के हुन्छ भन्ने प्रश्न उनीमाथि तेर्स्याए ।
बिजुलीको डेडिकेटेड र टं्रकलाइनको विषयमा सरकार र विद्युत प्राधिकरणबीच भइरहेको झमेलाबारे प्रधानमन्त्री ओलीको नियतमाथि प्रश्न उठाए । साथै वर्तमान सरकार विचौलियाहरुको सेवामा लागेको भन्दै कटाक्ष गरे । तर वर्तमान सत्ताको मुख्य सारथी दल कांग्रेसमाथि भने थोरै मात्र कटाक्ष गरे । उनले यसअघि प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी ६३ सिट भएको पार्टीलाई प्रधानमन्त्री बनाएको विषय खुलाए ।
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संसद्लाई सम्बोधन गरेका प्रचण्डले रचनात्मक रुपमा खबरदारी गरिरहने बताए ।
संसद्मा सम्बोधन गर्दै प्रचण्डले के भने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया