काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण हुने चर्चा चल्न थालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तरको भेटघाटपछि उक्त चर्चा सतहमा आएको हो ।
अध्यक्ष नेपालले केही दिन अघि प्रचण्ड निवास खुमालटारमा पुगेर भेटघाट गरेका थिए । त्यसलगत्तै आज पनि प्रचण्ड निवास खुमालटारमा नेताद्वयबीच भेटघाट भयो ।
बाक्लिएको भेटघाटले पार्टी एकताको संकेत गरे पनि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने सत्यता त्यस्तो नभएको लोकपथलाई जानकारी दिए ।
उनले अहिले अन्य दलहरुसँग एकता भन्दा पनि आफ्नो पार्टीलाई सवल बनाउनुपर्नेमा जोड दिएका छन् । साथै अन्य नेताहरुलाई पनि बरु समाजवादी मोर्चालाई नै अघि लैजाने विषयमा नेतृत्वलाई झक्झक्याउनुपर्ने बताए ।
‘कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन । समाजवादी मोर्चाको गतिविधि बढाइ बामपन्थीहरुको बीचमा न्युनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्यो भन्दा बढि केही छैन। अरु दलले के भनेका छ त्यसमा हामी बहकिन हुँदैन । हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो । कम्युनिष्ट पार्टीको सबै झण्डा उस्तै हो । त्यो साझा छ्। कलम चुनाव चिह्न हाम्रो विशेष परिचय हो यो परिचयलाइ मेट्न दिने कुनै कुरा छैन । सबैले यसै कोणबाट आफ्ना धारणा राख्नु हुन अनुरोध छ,’ उनले भने ।
सत्तापक्षबाट प्रतिपक्षमा पुगेपछि प्रचण्ड–नेपालबीच समाजवादी मोर्चालाई सक्षम बनाएर लैजाने विषयमा छलफल चलिरहेको छ । मोर्चाको घोषणा गरिए पनि त्यसपछि सबै दलहरु तितरबितरको अवस्थामा रहेका छन् । अहिले पनि कुनै दल सत्ता बाहिर र कुनै दल सत्तामा रहेका कारण त्यसले ठोस कार्ययोजना बनाउन सकिरहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया