काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रामक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसङ्गतीहरु पनि निम्त्याइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तर पुस्ता संवाद फोरममा बोल्दै उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर भएर राख्न सबैलाई आग्रह गरे ।
‘छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो । अचानक घटना घट्यो र प्रधानमन्त्रीले देश नै छाडेर हिँड्नुपर्ने अवस्था आयो । यसलाई सामान्य घटना लिन मिल्दैन । ऋण लिएर चालु खर्च चलाएको नेपालमा त यो सामान्य नै मानिएला । बंगलादेशमा ११ प्रतिशतले वृद्धि भइरहेको थियो र पनि घटना घट्यो । नेपालमा त कुनै पनि बेला केही हुन सक्छ, उनले भने, ‘सामाजिक सञ्जाल अहिले एकदमै आक्रमकहरु आइरहेको छ । सामाजिक सञ्जालले धेरै विसङ्गतिहरु पनि निम्त्याइरहेको छ । राम्रो पनि छ तर विसङ्गती पनि ल्याएको छ बंगलादेशले पनि देखाएको छ । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुन होला ।’
उनले राज्यले शिक्षित र अशिक्षित दुवै वर्गको युवाहरुलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने जिम्मेवारी लिन आवश्यक रहेको बताए । उनले सरकारले गर्ने लगानी र खर्च सही ठाउँमा उपयोग भएको छ कि छैन भनेर खबरदारी गर्न अपिल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया