‘वर्तमान गठबन्धनको कार्यभार संविधान संशोधन’

लोकपथ
112
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताएका छन्  ।

कांग्रेस केन्द्रीय समितिको  बैठकमा आज उनले आफ्ना धारणा व्यक्त गर्दै वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गरे ।

नेता कोइरालाले भने, ‘वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने हो । निःसन्देह दुई ठुला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजानसक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आम नेपालीको साझा दस्ताबेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आम नेपाली भावना जोडिनुपर्छ ।’

 वर्तमान सरकार गठनका सन्दर्भमा कांग्रेस र नेकपा (एमाले)ले सुशासनको धेरै प्रतिबद्धता गरेको उल्लेख गर्दै नेता कोइरालाले व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गरे  ।

‘सरकार छ भन्ने अनुभूति आम नागरिकलाई सङ्कटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरुकाबीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरुसँग जुध्दै छन्, ’उनले भने, ‘तिनको उद्धार, राहत, उपचार र पुनःस्थापना सरकारको प्रमुख दायित्व हो । म चाहन्छु हामी संलग्न सरकारले यस मानवीय कार्यलाई एक छिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?