नेतृत्वलाई नेता केसीको सुझाव– जनआवाजलाई झुल बाहिर लामखुट्टे कराएजस्तो नसोचिओस्

लोकपथ
714
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आम कार्यकर्ताको भावना समेटिनेगरी काम गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी आइतबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् ।

बाहिरबाट उठेका जनभावना र कार्यकर्ताको आवाजलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिँदै नेता केसीले त्यसलाई समयमा नै सम्बोधन गर्न नसकेमा त्यसको प्रतिक्रिया घातक हुन सक्ने बताए ।

‘जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएको जस्तो ठान्नु हुँदैन, सुनवाई गर्ने संयन्त्रको विकास जरुरी छ । अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुनसक्छ,’ उनले भने ।

त्यस्तै हरेक निर्णयमा नेतृत्वले संयमतापूर्वक निर्णय गर्न समेत आग्रह गरे । उत्तेजना र आवेग भन्दा बाहिर निस्किएर पार्टीका तल्लो तहसम्म प्रशिक्षण आम कार्यकर्तामा रहेको बताए ।

‘आगो लगाउने नेतृत्व होइन आगो निभाउने, उत्तेजना होइन, चेतना, आवेग होइन विवेक, तोड्ने होइन जोड्ने नेतृत्व आजको आवश्यकता छ । यो प्रशिक्षण पार्टीका हरेक तहमा पुग्नु जरुरी छ । यसैबाट पार्टीभित्र सम्पूर्ण एकता कायम हुनसक्छ,’ नेता केसीको धारणा रहेको थियो ।

बैठकमा पार्टीका महामन्त्री र उपभासपतिले राखेका प्रस्ताव कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । उनले यसअघि केन्द्रीय समिति बैठकमा राखिएका प्रस्तावहरु कार्यान्वयन हुन नसकेको भन्दै अहिलेको प्रस्ताव पनि कागजको खोस्टो मात्रै बन्न नहुने बताए ।

पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक उचारचढावको उदाहरण दिँदै दक्षिण एशियामा देखिन थालेको राजनीतिक संकटबारे नेपालले समयमा नै ध्यान दिन आग्रह गरे ।

‘दक्षिण एशियामा द्वन्द्वको खतरा र संकटजन्य अवस्था मडारिरहेको छ । शासकहरू एकपछि अर्को पलायन भएका छन् । यसका कारकपक्ष र पृष्ठभूमीतर्फ राज्य र राजनीतिक दलहरूले सुक्ष्म विश्लेषण र अध्ययन गर्दै समयमै चनाखो हुनु जरुरी छ,’ नेता केसीले भने ।

नेता केसीले अहिलेको सरकार केवल सरकार बनाउनका लागि मात्रै हुन नहुनेमा जोड दिए । उनले सरकारको असफलता मुलुकै असफलता हुनेतिर संकेत गर्दै संयमतापूर्वक काम गर्न आग्रह गरे ।

‘वर्तमान सरकारको सफलता राष्ट्रकै निमित्त एउटा ठूलो अवसर बन्नसक्छ र बनाउनु पर्छ । यसको असफलताले सम्पूर्ण पद्धतिमा नै संकट आउन सक्छ भन्ने हेक्का हामीले राख्नुपर्ने जरुरी छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?