यस्तो छ लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस घर्तीको ‘बायोडाटा’

२०४९ मा जिविस सभापतिमा पराजित, कांग्रेस १४ औं महाधिवेशनमा वडामै हार, २०७९ मा समानुपातिक उम्मेदवार

लोकपथ
1.5k
Shares

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले खासै नाम नसुनिएका कृष्णबहादुर घर्तीलाई लुम्बिनी प्रदेश प्रमुखका रुपमा सिफारिस गरेपछि उनको चर्चा एकाएक चुलिएको छ । मन्त्रिपरिषद बैठकलाई अमिक शेरचनलाई फिर्ता बोलाएर घर्तीको नाम सिफारिस गरेको छ । घर्तीले शपथ लिएपछि औपचारिकरुपमा मुख्यमन्त्रीको जिम्मेवारी बहन गर्नेछन् ।

कांग्रेस कोटाबाट लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुन लागेका घर्ती पुराना कांग्रेस कार्यकर्ता हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका उनी २०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए । २०४८ देखि २०७२ सम्म महासमिति सदस्य रहेका उनी नेपाली कांग्रेस विभाजन हुँदा हालका काग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसमा आबद्ध भएका थिए । पार्टी फुटपछिको प्रजातान्त्रिक कांग्रेसमा उनी २०५९ सालमा आमन्त्रित केन्द्रीय सदस्य बनेका थिए । त्यसपछि केन्द्रीय सल्लाहकार बनेका थिए । उनी प्रजातान्त्रि कांग्रेसको रोल्पा सभापतिसमेत बनेका थिए ।

२०१६ साल माघ १० गते जन्मिएका घर्ती १२ औँ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका थिए । १३ महाधिवेशनमा अमरसिंह पुन जिल्ला सभापति हुँदा प्रतिनिधि बन्न इच्छुक थिए उनी । तर छानिन सकेनन् । १४ औँ महाधिवेशनमा भने वडामै पराजित भए । रोल्पाको माडी गाउँपालिका–२ बाट उनी नेपाली कांग्रेसको १४ महाधिवेशनमा प्रतिनिधि छनौटमा पराजित भएका थिए ।

रोल्पा कांग्रेसमा संस्थापनभन्दा इतर पक्ष बलियो छ । त्यसैको मारमा पर्दा उनी वडामै पराजित हुन पुगेका हुन् ।
विभिन्न आन्दोलनमा जेल जीवन बिताएका घर्ती २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्षसमेत बनेका थिए । त्यसबेला उनी जिविस सभापतिमा लडेका पनि थिए । तर झक्कुप्रसाद सुवेदीसँग उनले हार बेहोरे ।

पार्टी सभापति देउवासँग निकटस्थ रहेका कृष्णबहादुरलाई पछिल्लो निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सूचिमा राखिएको थियो तर उनको नाम पछाडि भएकाले अट्न सकेनन् । घर्ती लामो समयदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाएर बसेका छन् । ६५ वर्षीय घर्तीले ५० सालदेखि नै यो स्कुललाई लाई नियमित चलाइरहेका छन् । उनका दुई श्रीमतीको मृत्यु भइसकेको छ । उनका ७ जना छोराछोरी छन् ।

रोल्पा जिल्ला माओवादीको किल्ला मानिए पनि कांग्रेसलाई बलियो बनाउन घर्तीले मेहनत गरेको कांग्रेसजनको भनाइ छ । सशस्त्र युद्धको समयमा पनि कांग्रेसमै टिकिरहेका उनी जनस्तरमा भिजेका नेताको रूपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?