वैशाख १५ मा इलाम–२ र बझाङ–१ (क) मा उपनिर्वाचन हुने

लोकपथ
119
Shares

काठमाडौं । इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा आगामी वैशाख १५ गते निर्वाचन हुने भएको छ ।

आज निर्वाचन आयोगले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै उक्त निर्वाचनमा भाग लिन चाहने राजनीति दलले आगामी फागुन २४ गते देखि ३० गतेसम्म दल दर्ता गर्नुपर्नेछ ।
साथै चैत २८ गतेदेखि वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । मतदानको समय बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्मका लागि तोकिएको छ ।

त्यस्तै गत निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधनपछि सो क्षेत्र खाली भएको थियो । नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।

गत असार ५ गते सुदूरपश्चिम प्रदेश सरकारको कानुनमन्त्री समेत रहेका बझाङ क्षेत्र नं १ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनाबाट निधन भएको थियो । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

त्यस्तै आयोगले स्थानीय तहको रिक्त स्थानको उपनिर्वाचन समेत गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?