भिजिट भिषामा घुस खाने अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दर्ता हुने (नामावलीसहित)

लोकपथ
196
Shares

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका ९ जना अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दर्ता हुन लागेको छ । त्रिभुवन विमानस्थलबाट भिजिट भिषाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बिहीबार २२ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । त्यसमा ९ जना अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रहेका छन् । उनीहरुविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भिजिट भिषा प्रकरणको अभियोजनका लागि बुधबार दर्ता गर्ने तयारी गरेको थियो । तर उच्च अदालत पाटनका बहालवाला न्यायाधीशको मंगलबार निधन भएपछि बुधबार सो मातहत अदालतमा शोक बिदा दिइएकाले बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो ।

भिजिट भिषा प्रकरणको सुरुवाती अनुसन्धान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको थियो । अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले ८ जना अध्यागमन अधिकृतहरुको नाम पोलेका थिए ।

सहजीकरण समिति बनाएर त्यहीँबाट सेटिङ गर्ने गरेको र सबैले बाँडेर रकम लिने गरेको नरवीरको बयान थियो । सोही बयानका आधारमा अन्यमाथि पनि अनुसन्धान सुरु भएको थियो । पछि उक्त मुद्दाको अनुसन्धान गर्ने जिम्मेवारी जिल्ला प्रहरी परिसर, काठमाडौंलाई दिइएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले भिजिट भिषामा सेटिङमा संलग्न तथा कीर्ते कागजात बनाउने र दलाल गरी २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको थियो । सोही प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरु नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्न लागेको हो ।

भिजिट भिसामा सेटिङवापत नगद दुई लाख बुझिरहेको अवस्थामा विमानस्थलका अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरि अनुसनधान गर्दा सेटिङमा अन्य अध्यागमन अधिकृतहरुको पनि संलग्नता रहेको खुलेको थियो । नरवीर खड्काका बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरुले समेत भिजिट भिषाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर गर्ने तयारी भएको हो । यद्यपि अन्य अध्यागमन अधिकृतहरु भने फरार छन् ।

अध्यागमन अधिकृतहरु बाहेक भिजिट भिषामा मानव तस्करी गर्न सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागिएको हो ।

मुद्दा दायर गर्न लागिएका अन्य व्यक्तिहरुमा नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने गिता शाह र अरुण दाहाल, अध्यागमनमा सेटिङ मिलाउनेहरु सरोज कुमार यादव, पदम लामा, मनोज तामाङ, राम प्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, होटल बाल्टिक ईनका सञ्चालक आशिष भन्ने केदार बहादुर खड्का रहेका छन् । त्यसैगरी नक्कली कागजातका आधारमा विदेश जान खोज्ने कौशिला मगर, लक्ष्मी राई र रिता दमाईविरुद्ध पनि मुद्दा दर्ता गर्न लागिएको छ ।

प्रहरीको अनुसन्धानमा विभिन्न व्यक्तिहरुले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको थियो ।

सेटिङबाट प्रतिदिन ५० हजारसम्म पाउँथे एक अधिकृतले

प्रहरीले पक्राउ गरी बयान लिइएका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्काका अनुसार सेटिङमा भिजिट भिषामा मानिसहरुलाई बाहिर पठाउँदा एक अध्यागमन अधिकृतको भागमा दैनिक ५० हजारको हाराहारीमा रकम भाग लाग्ने बताएका छन् । उनको बयानमा सामान्यत दैनिक २० जना र कहिलेकाहीँ १ सय देखि १५० जनासम्मलाई सेटिङमा पठाउने गरेको उल्लेख छ ।
यसरी भिजिट भिषाका नाममा सेटिङमार्फत् मानव तस्करी गराउँदा पुरुष भए प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ र महिला भए प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेको उनको बयानमा उल्लेख छ ।

भिजिट भिसामा सेटिङमार्फत् मानव तस्करी गर्नका लागि अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतहरु रहेको सहजीकरण समिति समेत बनेको नरवीरले बयानमा खुलाएका छन् । सोही समितिले नै सेटिङमा पठाउने गरेको र उक्त समितिमा अध्यागमन अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो लिम्बुसमेत रहने गरेको बयान दिएका थिए ।

पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बयान गर्ने क्रममा आफूहरुले सरोज कुमार यादव, मनोज लामा, पदम लिम्बु लगायतका मानिसहरुसँग सेटिङ गरी भिजिट भिसामा पठाउन सहजीकरण गर्ने गरेको र त्यसो गर्दा आफूहरुले पाउने रकम अध्यागमन अधिकृतहरुलाई भाग लगाउने गरेको बताएका छन् । कमिसनवापत आएको रकम भाग लगाउँदा प्रतिदिन एक अध्यागमन अधिकृतको भागमा ४० देखि ५० हजार पाउने गरेकोसमेत नरवीर खड्काले आफ्नजो बयानमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?