नेपाल टेलिभिजनले जननी हुनुको गौरव जोगाएको छ : प्रधानमन्त्री दाहाल

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली पत्रकारिता क्षेत्रमा देखिएको विभिन्न चुनौती सामु नेपाल टेलिभिजनले नेपालको राष्ट्रिय टेलिभिजन प्रसारणको जननी हुनुको गौरवलाई जोगाइराख्न सफल भएको बताएका छन् ।

बुधबार देशकै पहिलो टेलिभिजन (नेपाल टेलिभिजन) को ३९औं स्थापना दिवसको अवसरमा दाहालले शुभकामना व्यक्त गर्दै टेलिभिजनले आफ्नो स्थापनाको गौरवलाई जोगाउन सफल भएको बताए । उनले टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल परिमार्जित र प्रविधिमैत्री बनाउँदै लैजान पर्नेमा जोड दिए ।

उनले लोकतन्त्र र नागरिक अधिकारलाई आफ्नो सरकारले सर्वोपरि राखेको तथा अभिव्यक्ति स्वतन्त्रतालाई जिम्मेवार रूपमा सदैव सुरक्षित गर्ने समेत प्रतिबद्धता जनाए ।

‘म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु । त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात गरिएका विषयवस्तुहरु नेपाल टेलिभिजनमा देख्न चाहन्छु । यसका साथै देशकै पहिलो टेलिभिजन भएकाले नेपाल टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रको प्रविधिमा आएको परिवर्तन अनुसार समयानुकूल बनाउनुपर्ने अवस्था देखेको छु’ दाहालले भने ।

प्रधानमन्त्री दाहालले आफ्ना उत्पादन र प्रसारणलाई नेपाल टेलिभिजनले नयाँ प्रविधितर्फ स्थापित गर्न ढिला गर्न नहुने र संस्थानको विकासको लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उल्लेख गरे ।टेलिभिजनले आम दर्शकको रूचिलाई ध्यानमा राखेर आफ्ना विषयवस्तु तयार पार्नुपर्ने उल्लेख गर्दै दाहालले भने, ‘आगामी दिनका लागि सकारात्मक प्रभाव पार्ने योजनाको सङ्कल्प तयार गर्नुहोस्, सस्थानको विकासका लागि मेरो र सरकारको सहयोगी भूमिका रहनेछ ।’

दाहालले वर्तमान सरकारले पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको मात्र बताएनन् सरकारले नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि नभएर सञ्चारमाध्यम नियमन र व्यवस्थापनका लागि ल्याएको जिकिर गरेका छन् । तर, उनले गलत सूचना प्रवाह भैरहेको र सही र सन्तुलित सूचना प्रवाहमा पत्रकार र मूलधारका मिडिया चुक्न नहुने भन्दै थपे, ‘गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने अनि राज्य कमजोर बन्दै जाने जोखिम रहन्छ । त्यसैले सही, सन्तुलित र सत्य सूचना र समाचार प्रवाहको व्यावसायिक जिम्मेवारी निर्वाहमा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर र संवेदनशील हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?