बाँदर नियन्त्रणका लागि रुख काट्न वडाध्यक्षको उर्दी, महानगरले भन्यो- ‘रुख नकाट्नु’

लोकपथ
3k
Shares

काठमाडौं । बाँदरले दुख दिएपछि पोखरा महानगरपालिका वडा नं १९ ले रुख काट्न उर्दी जारी गरेको छ ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गर्दै ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्न वडाबासीलाई आग्रह गरेका हुन् ।

आव २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि नीति पास गरेको भन्दै वडाध्यक्ष पाण्डेले त्यस्तो उर्दी जारी गरेका हुन् ।

‘हाल प्रदेश सरकारले आ.व. ०८०÷०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रणसम्बन्धी नीति पास भएको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुम म काट्छु’ भन्ने अभियान सञ्चालन गरेर आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनका लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ ।’ वडाध्यक्ष पाण्डेले भनेका छन् ।

वर्षौँदेखि ‘हरियो बन नेपालको धन’ भन्ने नारासहित रुखको संरक्षण गर्दै आइएको अवस्थामा वडाले नै रुख काट्ने अभियान सञ्चालन गरेको भन्दै उनको आलोचना समेत भइरहेको छ ।

सामाजिक सञ्जालदेखि आम मिडियासम्म त्यसको आलोचना भएपछि पोखरा महानगरपालिकाले भने त्यसको खण्डन गरेको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा लेख्दै कार्यपालिकाबाट कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन् । महानगरपालिकाबाट रुख काट्ने सम्बन्धमा कुनै निर्णय नभएको हुँदा त्यस्तो कार्य नगर्न निर्देशन समेत दिएका छन् ।

‘गम्भीर ध्यानाकर्षण ११ आफ्नो रुख आफै काटौ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सुचना प्रकासित भएको सन्दर्भमा यस सम्वन्घमा स्थानीय सरकार सँञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएको ले सो सम्वन्घि कुनै पनि कार्य ९ रुख काट्ने फाड्ने० नगर्नु नगराउनु हुन सम्वन्घित सबैलाई जानकारी गराईसकिएको छ। भर्म मा नपर्नु हुन अनुरोध छ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?