आचारसंहिता उल्लंघन गर्दै शेखर कोइरालाले गरे चियापान

लोकपथ
252
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा चियापान आयोजना गरेका छन् ।

बिहीबार हुने निर्वाचनका लागि आचारसंहिता लागिसकेपछि पनि नेता कोइरालाले आफ्नो निवास विराटनगरमा चियापान गरेका हुन् ।

डा. कोइरालाको चियापानमा कांग्रेसका महामन्त्री गगनकुमार थापादेखि कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्ण सिटौला लगायत अन्य नेताहरु रहेका छन् । जहाँ कांग्रेस नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, प्रचारविभाग प्रमुख मिन विश्वकर्मा, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल लगायत स्थानीय तहका प्रमुख उपप्रमुख र कोशी प्रदेश सभाका सदस्यहरुको समेत उपस्थिती रहेको छ ।

गत सोमबार रातिबाट नै राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । मौन अवधिमा कुनै पनि भेला, सम्मेलन, भोज भतेर गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राति १२ बजेबाट मतदान कार्य सम्पन्न नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार दलको भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायतका कुनै पनि प्रकारको छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदी गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सुचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचार पालना गर्न गराउन अनुरोध गरिन्छ ।’ निर्वाचन आयोगले भनेको छ ।

तर डा. कोइरालाले आचारसंहिताको उल्लंघन गर्दै राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा चियापान गरेका हुन् ।

बिहीबार राष्ट्रिय सभा निर्वाचन हुँदैछ । १९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट २ जना निर्वाचित हुँदैछन् । जहाँ सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनको प्रतिष्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?