अध्यक्ष तिमिल्सिना विद्यार्थीलाई सहयोग गर्दै

पर्वत । कुश्मा बजारस्थित शिवालय माविमा अध्ययनरत सुहानी नेपालीलाई आइतबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोशाक र स्टेशनरी सामानसहितको झोला प्रदान गरेका छन् । 

विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुनलागेका बेला अध्यक्ष तिमिल्सिनाले ११ वर्षीया नेपालीलाई अध्ययन गर्न लाग्ने सबै खर्चसमेत उपलब्ध गराए ।

गत वर्षसमेत विद्यालय भर्ना अभियानका क्रममा अध्यक्ष तिमिल्सिनाले विद्यार्थीलाई खर्च उपलब्ध गराउनुभएको थियो । उनले भने, “अभिभावक र विद्यार्थीलाई भेटेर सहयोग गर्दै आएको छु । विद्यार्थीको पठनपाठनमा सुधार आएको छ ।”

तिलहारस्थित नवजागृत माविमा अध्ययनरत अनुप जिसी र देउपुर नमूना आवासीय माविमा अध्ययनरत निकिता क्षेत्रीलाईसमेत अध्यक्ष तिमिल्सिनाले यस वर्षको शैक्षिकसत्रका लागि आवश्यक रकम हस्तान्तरण गरे । “विद्यार्थीलाई पढ्न प्रोत्साहन मिलोस् भनेर सहयोग गरेको हुँ”, उनले भने । उनले पर्वतमा तीन तथा पोखरामा दुई विद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै गत वर्ष विद्यालयमा भर्ना गरेका थिए । 

गत वर्ष देशभर विद्यार्थीको जिम्मा लिएर विद्यालय भर्ना गर्ने अभियान चलेको थियो । विद्यालय भर्ना गर्दा आर्थिक सहयोग गर्नेदेखि पोशाक, झोला र स्टेशनरीसम्म आफैँले बेर्होने भनेर विद्यार्थी भर्ना गरिएको थियो । धेरैले आफूले भर्ना गरेका विद्यार्थीका बारेमा पछिल्ला दिनमा चासो राख्न छोडेका छन् ।  अध्यक्ष तिमिल्सिनाले भने आफूले भर्ना गरेका विद्यार्थीलाई नियमित सहयोग गर्दै  आएका छन् । 

पोखराको धर्मस्थली निमाविमा पढ्ने आकाश परियार र फेवा पब्लिक स्कूलमा पढ्ने भावना नेपालीलाई पनि शैक्षिकसत्रको शुरुआत, बीचमा र अन्त्यमा अध्यक्ष तिमिल्सिनाले सहयोग गर्दै आउनुभएको छ । उहाँले जिम्मा लिनुभएको विद्यार्थीलाई कम्तीमा १० कक्षासम्म अध्ययन गर्न लाग्ने नियमित खर्च बर्होर्नु भएको छ । “उच्च शिक्षा अध्ययनका लागि सम्भव भएसम्म सहयोग गर्ने सोच छ”, उहाँले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक र अभिभावकलाई समेत सम्पर्क गरी विद्यार्थीको सिकाइका बारेमा अध्यक्ष तिमिल्सिनाले जानकारी लिँदै आउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?