काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अजय चौरसियाले तराई द्रुतमार्ग (फास्ट-ट्र्याक)मा सेनाको गरिमा बचाउनुपर्ने बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै यसअघि भएको ग्लोबल टेण्डरलाई बाइपास गरेर अघि बढ्दै यसमा सेनालाई भित्र्याउनु स्वभाविक नभएको बताएका छन्।
उनले अहिले फास्ट-ट्र्याकको लागत बढेर करिब दोब्बर भइसकेको र अझै पनि समयमा सम्पन्न नहुने स्थिति सिर्जना भएको बताएका छन्। उनले थपे, ‘यसअघि ग्लोबल टेण्डर गरेर भारतीय कम्पनीले निर्माण गर्ने भन्दै डीपीआर गर्दा १ खर्ब १२ अर्ब लागत अनुमान गरिएको थियो। हाल यसको लागत करिब रु। २ खर्ब १४ अर्ब पुगेको छ। काठमाडौंलाई तराईसँग जोड्न प्रस्तावित यो परियोजनाको निर्माण अवधि लम्बिदै गएसँगै लागत पनि धान्नै नसक्ने गरी महंगो भएको छ। यसमा सेनालाई मुछ्ने काम भइरहेको छ।’
उनले सेनामाथि शंका गर्ने ठाउँ नभए पनि सेनाको गरिमा बचाउने जिम्मा प्रधानसेनापतिको भएको बताएका छन्। उनले थपे, ‘यसमा सेनाको इतिहास, प्रतिष्ठा, प्रतिबद्धता गर्व र छविमा शंका गर्ने ठाउँ छैन। सरकारले अह्राउको काम त सेनाले गर्ने भयो। तर, सेनाको गरिमा बचाउने दायित्व पनि प्रधानसेनापति कै हो।’
यसअघि फास्ट-ट्र्याक २०८१ सम्म सम्पन्न गर्ने भन्दै शिलान्यास गरिए पनि २०८० वैशाखमा दुई वर्ष म्याद थप गरिएको छ। उनले भने, ‘यो २०८१ सम्म निर्माण सम्पन्न गर्ने भन्ने थियो, अहिले २०८३ सम्म समय बढाइएको थियो। समय बढेसँगै लागत पनि बढिरहेको छ।’
फास्ट-ट्र्याकको सजिला कामहरु भइरहेको भए पनि जटिल कामहरु बाँकी रहेको उल्लेख गर्दै थपे, ‘सजिलो ठाउँमा बनिरहेको छ। जटिल कामहरु बाँकी नै छन्। बनेको पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको कुराहरु आएको छ। यो बारे जवाफदेही को हुने हो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया