पटक–पटक आफूलाई किन सम्राट अशोकसँग दाँज्छन् प्रधानमन्त्री प्रचण्ड ? (भिडियोसहित)

लोकपथ
189
Shares

काठमाडाैं । प्राचीन भारतको मौर्य राजवंशका चक्रवर्ती राजा हुन् अशोक । युद्धकै बलमा अशोकले थुप्रै राज्य जिते अनि सम्राट बने । तर, कलिङ युद्धमा भएको विभत्स हत्यामा सुनिएका चित्कारले अशोकलाई युद्धबाट जितिने राष्ट्र मोह त्याग्न बाध्य पार्यो । जीवनको उत्तरार्धमा उनी गौतम बुद्धको शान्ति मार्गमा लागे । अनि शान्ती दूतका रुपमा विश्वमा कहलिए ।

यिनै सम्राट अशोकलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक सम्झिए । प्रचण्डले सम्राट अशोकलाई सम्झिनेमात्र होइन, अशोकसँग आफूलाई तुलनासमेत गर्न भ्याए ।

गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा शान्ति दीप प्रज्ज्वलन तथा गुरुयोजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई सम्राट अशोकसँग तुलना गरेका हुन् ।
हिजो युद्ध लडेका सम्राट अशोक लुम्बिनी आएर जसरी बुद्धको शान्ति अभियानलाई विश्वभर फैलाउन र यहाँको विकास गर्न प्रतिबद्ध भएर लागे, अहिले आफूले त्यसैगरी काम गरिरहेको प्रचण्डको भनाई थियो ।

यहीक्रममा प्रचण्डले शान्तिको सन्देश विश्वव्यापी बनाउने अभियानमा आफ्नो अशोक सम्राटसँग लय मिलेकोसमेत दाबी गरे ।

कलिङ युद्घपछि पश्चाताप गर्दै सम्राट अशोकले मान, पद, प्रतिष्ठा, सम्मान र सबै किसिमका भौतिक सुख त्यागे । शान्तीको मार्गमा आएपछि सबै माया–मोह त्यागेका थिए ।

प्रचण्डले पनि युद्घ त्यागे । शान्ति प्रक्रियामा आउन राजी पनि भए । तर पदीय आशक्ति, पारिवारिक मोह र राजनीतिक शक्तिको केन्द्रमा आफू रहिरहनुपर्ने लालसा भने प्रचण्डले कहिल्यै त्यागेनन् ।

तैपनि कहिले बुद्घसँग त कहिले सम्राट अशोकसँग जोडेर प्रचण्ड आफूलाई शान्तिवादी बताउन बिर्सिँदैनन् । खासमा प्रचण्ड को हुन् ? माओवादी,माक्र्सवादी,लेनिनवादी, स्टालिनवादी वा शान्तिवादी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?