काठमाडौं । रुकुम पश्चिमको सोती घटना प्रकरणबारे सुनुवाई सकिएको छ । रुकुम जिल्ला अदालतमा मंगलबार प्रतिवादीतर्फका कानुन व्यवसायी र सरकारी वकिलबाट जवाफी बहस भएपछि सुनुवाइ सकिएको हो ।
सुनुवाई सकिएकाले आजै फैसला सुनाउने वा के गर्ने भन्ने सम्बन्धमा भने कुनै जानकारी नआएको रुकुम जिल्ला अदालतका श्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।
३६ महिना पुरानो बहुचर्चित सोती हत्याकाण्डमाथि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ भएको थियो ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विःकसहित ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिःक तथा उनका साथीहरुको समूहलाई सोतीका स्थानीय बासिन्दाहरुले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।
३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो । प्रेमिका भनिएकी किशोरी हत्या भएको स्थानमा नपुगेको बयान दिएकी तथा अन्य तथ्यले समेत पुष्टि गरेको भएपनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको थियो ।
२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारबाट निरन्तर सुनुवाई गरी फैसलाको तयारी गरिएको हो ।
पदम बहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भई नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा ३ वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरुको हकमा १० वर्षसम्मको कैद सजायको मागदावी लिइएको छ । एकै व्यक्तिले सबै कसुर गरेको अवस्थामा पनि जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय र अपराध अनुसारको जरिवाना तथा पीडित परिवारलाई क्षतिपूर्ति भराउनु पर्नेछ ।
कतिपय प्रतिवादीको हत्यामा प्रत्यक्ष संलग्नता नरहेको भन्ने बयान र अन्य प्रतिवादीहरुको बयानबाट देखिएको कारण केहीलाई ज्यान मार्ने उद्योगमा सजाय वा कतिपयलाई सफाई समेत हुन सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया