काठमाडौँ– पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको गाडी शुक्रबार नयाँबानेश्वरमा लेन मिच्दै अघि बढ्दा सन्तोष कुँवरले चलाएको स्कुटर दुर्घटना भयो । बा ४५ प २९३४ नम्बरको स्कुटर गइरहेको लेनमा अचानक बा १ झ ९५२७ नम्बरको गाडी छिरेको थियो, जसले स्कुटरलाई ठक्कर दियो ।
कुँवर र पछाडि बसेकी महिला भुइँमा पछारिए । धन्न उनीहरूलाई ठूलो चोटपटक लागेन । दृश्य यस्तो थियो कि पछाडिबाट अर्को कुनै ठूलो सवारीसाधन आएको भए कुँवरलाई जे पनि हुनसक्थ्यो । नयाँबानेश्वरस्थित संसद् भवनअगाडिको यो दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । गाडीका चालकलाई कारबाही गर्नुपर्ने माग गरे ।
भिडियोमा गाडीले लेन अनुशासन मिचेको प्रस्टै देखिन्छ । तर यस घटनाको छानबिन नहुँदै मेलमिलाप गरिएको छ । ट्राफिक प्रहरी प्रमुख वसन्त पन्तले गाडी चालकलाई ट्राफिक महाशाखामा उपस्थित हुन निर्देशन दिइसकेको बताएका थिए । तर, ट्राफिक महाशाखा नजाँदै स्कुटर र गाडी चालकबीच महानगरीय वृत्त नयाँबानेश्वरमा मेलमिलाप भइसकेको छ । शनिबार स्कुटर चालक कुँवरका तर्फबाट भतिज रोशन कार्की र चन्दको निवासमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक लीलाबहादुर राणाबीच मिलापत्र भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया