कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

लोकपथ
7
Shares

ढोरपाटन । बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यलय बुर्तिबाङ धाएको चार दिन भयो । लगातार चार दिनसम्म पनि पालो पाएका छैनन् ।

बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उनीसहित भतिजा र भाउजु पनि घरदेखिनै आउजाउ गरिरहेका हुन् । तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाडानै रु दुई हजार दुई सय लाग्छ ।

चार दिनसम्म उनीहरुले गाडी भाडा मात्रै आठ हजार आठ सय खर्च गरिसके । खाना र खाजामा चार हजारभन्दा बढी खर्च भयो । एक जना व्यक्तिको नागरिकता बनाउन हजारौँ खर्च हुनुपर्ने बाध्यता हर्कबहादुरको मात्रै होइन इलाका प्रशासन कार्यलय बुर्तिबाङमा सेवा लिन आउने धेरैको छ । दिनभरी लामो लाइनमा बस्ने साँझ परेपछि पालो नपाएर फर्कनेको सङ्ख्या ठूलो सङ्ख्यामा छ ।

दाईको केही समय अगाडि मृत्यु भएपछि भतिजाको नागरिकता बनाउन आउनुभएका हर्कबहादुरले यस्तो समस्या पहिले बागलुङ पुगेर सेवा दिँदा पनि नपाएको सुनाउँछन् ।

“ऋण खोजेर नागरिकता बनाउन आएको हो, चार दिनसम्म धाउँदा ठूलो खर्च भइसकेको छ”, विकले भने, “तर काम भने बनेको छैन । चार दिनसम्म पालो कुर्दै बितेको छ ।” एक दिनमै बन्ने नागरिकता बोलिदिने मान्छे कोही नहुँदा बन्न नसकेको उनको गुनासो छ ।

“यतिका दिनभयो, घरमा कामको चटारो छ, यहाँ आउन थालेपछि घर र बारीको केही काम गर्न पाइएको छैन, दिनदिनै हजारौँ रुपैयाँ खर्च भइराखेको छ । काम बन्दैन । पालो कुर्दा कुर्दा दिन बित्छ तर पालो आउन्न”, विकले भने, “पहिलो दिननै नागरिकता बन्छ होला भनेर छिमेकीसँग पाँच हजार ऋण गरेर आइयो, अब त नागरिकता बन्दासम्म २० हजारले पनि नपुग्ने अवस्था भयो ।”

विकले भतिजाको नागरिकता बनाउन पाए विदेश पढाउने सोच बनाएका छन् । “नागरिकता बनाइदिन पाए विदेश पठाउन हुन्थ्यो, प्रशासनबाट मङ्लबार बल्ल पालो आउने खबर पाएको छु”, उनले भने । ढोरपाटन नगरपालिका–३ पुर्कोटका बुद्धबहादुर गुरुङ श्रीमती पनि नागरिकता बनाउन आएको ३ दिन भयो । तीन दिनसम्म पालो नपाउँदा भारत फर्कन ढिला भएको छ ।

दुई दशकदेखि भारतमा रोजगार गर्दै आएका गुरुङले अहिलेसम्म श्रीमतीको नागरिकता बनाएका थिएनन् । नागरिकता बनाएर मङ्लबारनै भारत फर्कने भने पनि अहिलेसम्म बन्न नसकेको गुरुङले गुनासो गरे । प्रशासनमा सेवा लिनेको ठूलो भीड हुँदा पालो आए नआएको थाहा पाउन पनि मुस्किलपर्ने उनको भनाइ छ । कर्मचारीले आइतबार मात्रै आफ्नो पालो आउने जानकारी गराएको गुरुङले सुनाए ।

गुरुङले भने, “वडा कार्यलयबाट सिफारिस लिएर आएको तीन दिन भयो, गाउँमा त छिट्टै काम हुन्छ भन्थे तर यहाँ आएको तीन दिन बित्यो तर काम बन्ने अत्तोपत्तो छैन, धेरैजसो हामी भारततिरै बस्छौँ, त्यही भएर नागरिकता बनाइएको थिएन, अहिले चाहियो र बनाउन लागेको धेरै ढिला भयो, किन ढिला भयो भनेर सोध्दा काम गर्ने मान्छे छैनन् भन्छन्, आउँदाजाँदा धेरै खर्च भयो, उता (भारत) जान पनि ढिला भइसक्यो ।”

इलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले र कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको बताए । कार्यलयमा १० दश जनाको दरबन्दी रहे पनि हाल तीन जनाले मात्रै सेवा दिनु परेको छ । विभिन्न कार्यलयबाट सरुवा भएर आएका कर्मचारी आउँदाकै दिन अन्तै सरुवा हुने हुँदा सेवा प्रवाहमा निकै कठिन भएको कुँवरको भनाइ छ । यहाँबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाता प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको उनी बताउँछन् । कर्मचारी नहुँदा अहिले राहदानीको काम ठप्प भएको कुँवरले बताए ।

“हरेक दिन सयौँ सेवाग्राही आएर लाइन बस्नुहुन्छ, सबैलाई सेवा दिएर पठाउने कोसिस गछौँ तर थोरै कर्मचारीले सबैलाई सेवा दिन निकै गाह्रो हुँदोरहेछ, दिनमा एक सयभन्दा बढीलाई सेवा दिन पनि सकिने अवस्था छैन”, उनले भने । अहिले नागरिकताको प्रतिलिपि लिने, नागरिकता बनाउन आउनको सङ्ख्या निकै ठूलो रहेको उनको भनाइ छ । सरुवा भएर आएका कर्मचारी एकदिन पनि नबस्ने र त्यसको असर सेवाग्राहीलाई सास्ती भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?