मल्लकालीन दरबारको पुन:निर्माण सुरु

लोकपथ
119
Shares

भक्तपुर । भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालिन थन्थु दरबार पुनःनिर्माण सुरु गरिएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनःनिर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनःनिर्माण सुरु गरेको हो ।

नगरपालिका नयाँ भवनमा सर्नु अगाडि लामो समय कार्यलय भवनको रुपमा प्रयोग गरिएको थन्थु दरबार कार्य बहुवर्षीय योजनाअन्तर्गत पुनःनिर्माण अगाडि बढाइएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । उनका अनुसार दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गरिने छ । पुरातत्त्व विभागबाट नक्सा स्वीकृत गराई पुनःनिर्माण कार्य अगाडि बढाइएको उनको भनाइ थियो ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रको भूकम्पले क्षति पुर्‍याएर जीर्ण बनेका एवं टेकोको भरमा अडिएका सम्पदाको पुनःनिर्माणमा विदेशी दातृ निकायको लगानीमा बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिने कार्यको विरोध गर्दै आएको छ । यहाँका क्षतिग्रस्त सम्पदाको नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च जुटाउने भन्दै उपभोक्ता समिति एवं कालीगढबाट पुनःनिर्माण गर्ने अडान लिँदै आएको छ ।

यसअघि पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्त्वविद् कोष आचार्य, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रो रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?