आज भाइटीका : शुभ साइत १०:५१ मिनेटमा

लोकपथ
70
Shares

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

बिहान १०: ५१ मिनेटको शुभ साइत पारेर विधिपूर्वक दिदी–बहिनीले टीका फूलमाला लगाइदिएपछि यो क्रम आज दिनभरजसो जारी रहने छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको शुभसाइत मध्याह्न १० बजेर ५१ मिनेटमा तय गरेको छ । यद्यपि शुभसाइतमा टीका लगाइदिन नभ्याइए दिनभर टीका लगाउँदा पनि बिग्रय भने पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?