काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड तिहार घर आँगनमा आइसकेको छ । आज कुकुर तिहार । हिजो कागतिहारबाट सुरु भएको तिहार कार्तिक शुक्ल प्रतिपदासम्म तिहार मनाइन्छ ।
यी पाँच दिनलाई यमपञ्चकसमेत भनिन्छ । यी पाँचदिन मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकँहा अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको किम्बदन्ती छ । शनिबार कागलाई मिष्ठान्न भोजनहरु चढाएर काग तिहार मनाइयो । वैद्धिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।
कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ । कागलाई खानेकुरा चढाउने बलि दिने शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले बताए ।
‘तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ,’ उनले भने । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ ।
बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि छ । वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामनलगायत पुराणमा वर्णन गरिएको छ ।
विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा.गौतमले बताए । यही मान्यताका कारण आजकाल पनि देउसीभैलो खेल्दा “हामी त्यसै आएनौँ बलि राजाले पठाए” भनी भट्याउने गर्छन् ।
लक्ष्मीपूजाका दिनमा भैलो र गोवर्द्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ ।
अहिले महिला पुरुष दुवैले देउसीभैलो खेल्न थालेका छन् । लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुवातदेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ ।
तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ ।यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन् । तिहारको अन्तिम दिन कात्तिक २९ गते दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया