मुगु हत्या प्रकरण : दुई रात गोठमा लुकेर सामुहिक हत्या गरिएको खुलासा

लोकपथ
812
Shares

काठमाडौं । मुगुको छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुमा एकै परिवारका चार जनाको सामूहिक हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका तीनजना छोराछोरीको हत्यामा संलग्न आरोपमा प्रहरीले पिना गाउँपालिका वडा नम्बर ७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरालाई पक्राउ गरेको हो ।

यतिबेला प्रहरीले ठकुरी र बोहोरामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । लुटपाटको उद्धेश्यले श्रीदेवीको परिवारको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार हत्याका मूख्य योजनाकार गोर्खराज शाही ठकुरी उर्फ काले हुन् । कोहलपुर बस्दै आएका कालेले श्रीदेवीसँग भएको सुन र नगद लुट्न गोपालको साथ लिएर श्रीदेवीको परिवारको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार गोर्खराजले श्रीदेवीको सुन र पैसा लुट्ने योजना गत जेठदेखि नै बुनेको खुलेको छ । छायाँनाथ रारा–६ बस्दै आएका गोपाललाई गोर्खराजले जेठमै सुर्खेतबाट पिना गएर श्रीदेवीसँग भएको सुन र पैसा लुट्ने योजना बनाएको अनुसन्धानबाट खुलेको हो ।

सोही योजनाअनुसार गोर्खराज ५ कात्तिकमा पिना पुगेका थिए । श्रीदेवी माइती गएको बेला परेपछि उनी उनी गोपालको गोठमा लुकेर बसे । जब कात्तिक ८ मा श्रीदेवी माइतीबाट फर्किइन् त्यसपछि उनीहरुले हत्या गरेको खुलेको छ । उनीहरुले श्रीदेवीसँगै उनका ११ वर्षीय छोरा मनोज, ७ वर्षीय छोरी अप्सरा र एक वर्षीय छोरा रहरको हत्या गरेका हुन् ।
योसँगै उनीहरुले श्रीदेवीको कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी र एक थान ओप्पो मोबाइल लुटेर भागेको प्रहरीले जनाएको छ । साथै, हत्याराले २ थान बैंकको चेक, ६ हजार रुपैयाँ नगद र लालपूर्जा पनि लुटेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?