लेखक तथा साहित्यकार शिवसुन्दर पुडासैनीको ‘बेलकोटगढी मीमांसा’ सार्वजनिक

लोकपथ
168
Shares

काठमाडौं । लेखक तथा साहित्यकार शिवसुन्दर पुडासैनीको ८औँ कृति ‘बेलकोटगढी मीमांसा’ सार्वजनिक भएको छ ।

बुधबार बेलकोटगढी नगरपालिका बागखोरस्थित महादेव आधारभूत विद्यालयको हलमा उक्त पुस्तक लोकार्पण भएको हो ।

बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल लगायत सोही विद्यालयका शिक्षकहरु, वडाध्यक्षहरु, वुद्धिजिवी पत्रकार लगायत अन्य सर्वसाधारणको समेत सहभागितामा उक्त पुुस्तक लोकार्पण गरिएको हो ।

बेलकोटगढी नगरपालिका भित्रको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्त्विक विषयवस्तुहरु समेटिएको उक्त पुस्तक भोलिको दिनमा समाजशास्त्र अध्ययन गर्नेहरुका लागि दस्तावेज बन्न सक्ने समीक्षा गरिएको छ ।

लोकार्पणपछि बोल्दै मेयर गुरुङले नगरपालिकाको इतिहाससहित नगरभित्र रहेको धार्मिक, सामाजिक, आर्थिक पर्यटन लगायत समग्र क्षेत्रको वर्णन गरेर पुस्तक प्रकाशित भएकोमा खुुसी व्यक्त गरे । आगामी दिनमा समाजशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि अध्ययन गर्ने स्रोत पुस्तिका बन्ने बताए ।

त्यस्तै उक्त पुस्तक नगरको स्रोत पुुस्तिका भएको बताउँदै मेयर गुरुङले नगरपालिकाभित्र रहेको विद्यालय, संघसंस्था तथा लेखकलाई समेत अन्य छुटेका विषयवस्तु भएमा त्यसको खोजी गर्दै थप गर्न आग्रह गरे ।

नगरभित्रका इतिहासलाई मात्र नभएर पर्यटन तथा कृषिको समेत सम्भावनाहरुलाई उजागर गरिएको कारण यसले नगर विकासको खाका कोर्न नगरलाई उपयोगी हुन सक्ने बताए ।

त्यस्तै उपमेयर दाहालले विमोचनमा बोल्दै उक्त पुस्तकले नगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रमका लागि स्रोत सामग्री हुने बताए । त्यसैगरी नगरपालिकाभित्र रहेका प्राचिन कुराहरुको उजागर गरेकोप्रति लेखकलाई धन्यवाद दिँदै आगामी दिनमा थप सशक्त रुपमा कृति प्रकाशनका लागि आग्रह गरे ।

त्यसैगरी विमोचनपछि बोल्दै लेखक पुडासैनीले आफ्नो नगरपालिकाभित्रको समग्र चित्रणका लागि अध्ययन गरी त्यसलाई प्रकाशनमा ल्याउन पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै उक्त पुस्तक भविष्यमा बेलकोटगढीका बारेमा अध्ययन गर्नेहरुको लागि सन्दर्भ सामाग्री हुने विश्वास व्यक्त गरे ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेका पुडासैनीको यसअघि नै विभिन्न विधाका पुस्तकहरु प्रकाशन भइसकेको छ । उनको ‘वर्तमान बुद्ध र मान्छेहरु’ (कविता संहग्रह), ‘अब देश कंगो बन्ने हल्ला’ (कविता संग्रह), ‘सपना, यथार्थ र नयाँ नेपाल’ (उपन्यास), ‘प्रेमइरा र लालप्रसादको देश’ (कथा संग्रह), ‘भविष्यको बाटो’ (बाल कथा संग्रह) लगायत कृतिहरु प्रकाशित भइसकेको छ । र नयाँ कृति चरा राजनीति भन्ने उपन्यास प्रकाशनका लागि तयारी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?