ताप्लेजुङ– “ भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भने ।
घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुगेका थिए ।
ठाउँठाउँमा डोरी राखेर झन्डिँदै घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षकसँग प्रजिअ अनुज भण्डारी थिए । भण्डारी साँझ सदरमुकाम फर्किए पनि अहिले उनीसहित घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसिरहेका छन् ।
बिहानैदेखि ताप्लेजुङको मौसम प्रतिकुल बनेको छ । मध्याह्नदेखि पाथीभरा क्षेत्रमा हुरीबताससहित हिमपात भएको थियो । अहिले पनि हिमपात भइरहेको निरीक्षक थापाले बताए ।
नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ । थापाले भने, “गर्दागर्दै रात पनि प¥यो, मौसम प्रतिकुल भएपछि अरू शव हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन शव रुँघेर बसेका छौँ, बिहान पुनः हेलिकप्टरबाट लैजाने तयारी भएको छ ।” हेलिकप्टरमा बास्केट राखेर शवहरू सुकेटारमा ल्याइएको हो । बिहीबार सबै शव सङ्कलन गरिसकेपछि काठमाडौं लगिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया